चाडपर्व सुरक्षा : सीमामा सशस्त्रको१ सय ४६ हेल्प डेस्क र राजमार्गमा ५५ बेस

दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा व्यापक प्रहरी परिचालन

बुधबार, २१ असोज, २०८३
प्रिन्ट संस्करण

चाडपर्वलाई लक्षित गरी सुरक्षा निकायले विशेष योजना बनाएर कार्यान्वयन थालेको छ । सशस्त्र प्रहरीले सीमा र राजमार्गलक्षित योजना बनाएको छ भने नेपाल प्रहरीले दुर्घटना र चोरी न्यूनीकरणलाई केन्द्रमा राखेर सुरक्षा योजना बनाएको छ ।

सशस्त्र प्रहरीले भारतसँगको सीमानाकामा हेल्प डेस्क राख्न थालेको छ । नाकामा १४६ वटा हेल्पडेस्क स्थापना गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले बताए । ‘कतिपय जिल्लामा हेल्प डेस्क स्थापना भइसकेका छन्, केहीमा हुँदै छन्,’ उनले भने, ‘चाडपर्वमा भारतबाट फर्कने नेपालीलाई सहजीकरण गरी सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा योजना बनाएर लागू गरिएको छ ।’ 

सशस्त्र प्रहरीले चारवटा मुख्य नाकामा तालिमप्राप्त कुकुरसहितको टोली खटाएको छ । झापा, पर्सा, रुपन्देही र कैलालीको नाकामा यस्तो टिम खटाइएको छ । सीमानाकामा लुटपाटजस्ता घटना रोक्न भारतको सीमा सशस्त्र बल (एसएसबी)सँग पनि समन्वय भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै, राजमार्ग सुरक्षामा पनि सशस्त्र प्रहरीले विशेष योजना बनाएको छ । चाडपर्वमा पानी पर्न सक्ने र राजमार्गमा समस्या हुन सक्ने भएकाले चाडपर्वसम्मै ५५ वटा मनसुनजन्य प्रतिकार्य बेस राख्ने निर्णय गरेको छ । ‘यसपटक मौसमको विषयलाई समेत समेटेर सुरक्षा योजना बनाइएको छ,’ डिआइजी कार्कीले भने, ‘राजमार्गमा एम्बुलेन्ससहित आआरटी टोली पनि खटिएका छन् ।’

हरेक वर्ष चाडपर्वको समयमा ठुला दुर्घटना हुने गर्दछन् । त्यस्ता दुर्घटना न्यूनीकरणलाई नेपाल प्रहरीले यसपटक विशेष जोड दिएको छ । प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले सडक दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा व्यापक मात्रामा प्रहरी परिचालन गर्न थालिएको बताए ।

‘चाडपर्वमा हुन सक्ने दुर्घटना न्यूनीकरणमा हाम्रो विशेष चासो छ, त्यसका लागि राजमार्गमा व्यापक प्रहरी परिचालन हुँदै छन्,’ उनले भने, ‘लामो दूरीका सडकमा दुईजना चालक अनिवार्य गरिएको छ, सार्वजनिक यातायातका चालकको २४सै घण्टा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागुऔषध सेवन)को जाँच हुन्छ ।’ ट्राफिक नियममा कडाइ गर्न सबै जिल्ल जान निर्देशन भइसकेको डिआइजी काफ्लेको भनाइ छ । राजमार्गमा आकस्मिक चेकिङ गर्न थालिएको उनले बताए ।

त्यस्तै, चोरीलगायत अपराध न्यूनीकरणका लागि प्रहरीले योजना बनाएको छ । दसैँको समयम भिडभाडमा लुटपाट हुने तथा डेरा बन्द गरेर ग्रामीण जिल्ला जाँदा चोरी हुने गरेका छन् । त्यस्ता घटना हुन नदिन सर्वसाधारणलाई सामुदायिक प्रहरीदेखि सामाजिक सञ्जालमार्फत सचेतना गरिएको प्रहरी प्रवक्ता काफ्लेले बताए ।

‘चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन हामीले प्रोएक्टिभ पुलिसिङमा जोड दिँदै प्रविधिको प्रयोगलाई अधिकतम प्रयोग गर्दै छौँ,’ उनले भने, ‘सिसिक्यामेरा र ड्रोनको प्रयोगमार्फत पनि निगरानी थालेका छौँ ।’ प्रहरीले भिडभाड हुने क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचान गर्न थालेको छ ।

सुझावित समाचार