मकवानपुर । मकवानपुरको हेटौँडाबाट स्रोत नखुलेको २१ लाख ४० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन्।
हेटौँडा उपमहानगरपालिका– १, चौकीटोलमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ०२०९ नम्बरको इसुजु डिम्याक्स गाडी जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका– ८ का करिब ३२ वर्षीय गाडीचालक विजय खाती र मकवानपुरको राक्सिराङ गाउँपालिका– १ का करिब ४० वर्षीय सिंहराम रुम्बा रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको मोबाइल टोलीले सोमबार साँझ करिब ७ः३५ बजे हेटौँडा–भीमफेदी सडकखण्डमा गाडी रोकेर जाँच गरेको थियो। सो क्रममा गाडीभित्र कालो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा नगद फेला परेको प्रहरीले जनाएको छ।
बरामद रकममा एक हजार र पाँच सय दरका नेपाली नोट रहेको प्रहरीले जनाएको छ। यद्यपि, कुन दरका नोट कति संख्यामा थिए भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
सशस्त्र प्रहरीको टोलीले नगदसहित गाडी र दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको थियो।
प्रहरीका अनुसार उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। दुवैजनालाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ।