पत्नीको हौसलाले कोरोना संक्रमित बोकिरहेछन् जंगबहादुर

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ । कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक योद्धा अर्थात् एम्बुलेन्सचालक जंगबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ ।

गत २२ जेठमा उनले पहिलोपल्ट मेचीनगर– ४ स्थित क्वारेन्टिनबाट कोभिड– १९ का एक संक्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको कोभिड हस्पिटल लगे । ‘सुरुमा रोग सर्ने पो हो कि भन्ने निकै डर लागिरहेको थियो, यस्तो जागिर छाड्ने पो हो कि जस्तो गरी मनमा अनेक कुरा खेलिरहेको थियो,’ हालसम्ममा एक सयभन्दा बढी संक्रमित व्यक्तिलाई एम्बुलेन्समा हाँकेर अस्पताल पुऱ्याइसकेका उनी भन्छन्, ‘त्यतिवेलै श्रीमतीको फोन आयो, उनले तपाईं एउटा एम्बुलेन्सचालक हो, अप्ठ्यारोमै सहयोग गर्नुपर्छ । आफू सुरक्षित रहेर काम गर्नु केही हुँदैन भनेपछि मन हलुका र ढुक्क भयो ।’

मेचीनगर नगरपालिका– ९ का ४५ वर्षीय जंगबहादुर खड्का नगरपालिकाले कोरोना संक्रमित बोक्नका लागि तोकेको मे.१झ १३८ नम्बरको एम्बुलेन्सका चालक हुन् । उनले  २२ जेठयता कोभिड अस्पताल विराटनगर, गोठगाउँ, धरान र मेची अस्पताल गरी ११५ जना संक्रमितलाई उपचारका लागि पुऱ्याइसकेका छन् । 

उनले भने, ‘सेवा नै धर्म हो, यस्तो महामारीको वेला सहयोग गर्नु मानवको कर्तव्य हो  म त्यही पूरा गर्दै छु ।’

जंगबहादुरकी पत्नी लक्ष्मी खड्का सामान्य गृहिणी हुन् ।  कोरोना बोक्ने एम्बुलेन्स ड्राइभरको पत्नी भनेर अरूले औँल्याउने गरे पनि लक्ष्मीले आफ्ना श्रीमानलाई कोरोनाको विश्वव्यापी महामारीका वेला सेवा गर्ने जिम्मेवारीबाट पन्छिन नहुने भन्दै हौसला थप्दै आएकी छिन् । ‘जबजब कोरोना संक्रमितलाई बोकेर एम्बुलेन्स चलाइरहेको हुन्छु, त्यसवेला मलाई श्रीमतीले भनेको कुराले आत्मबल बढिहाल्छ,’ उनले भने । 

संक्रमितलाई एम्बुलेन्समा चढाउँदा र ओराल्दा अपनाउनुपर्ने स्वास्थ्य सावधानी राम्ररी पालना गरेको उनले बताए । संक्रमितलाई बोक्न थालेयता तीन महिनादेखि उनी घर पनि गएका छैनन् । कहिलेकाहीँँ घर छेउसम्म पुगेर टाढैबाट परिवारका सदस्यसँग बोलचाल गरी फर्किने गरेको उनले बताए । 

नगरपालिकाले उनलाई स्यानिटाइजर, गमबुट, मास्क, पञ्जा, फेस सिल्डलगायत सामान उपलब्ध गराउँदै आएको छ । धुलाबारी स्वास्थ्य केन्द्रको दरबन्दीवाहक एम्बुलेन्सचालक भएको हुँदा उनी कार्यालयले व्यवस्था गरेको कोठालाई क्वारेन्टिन बनाएर बस्दै आएका छन् । जुनसुकै समय र अप्ठ्यारो परिस्थितिमा समेत संक्रमितलाई अस्पताल पुऱ्याउन बोलाउना साथ तयार भएर खटिने उनको स्वभावबाट आफू प्रभावित भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।

सुझावित समाचार