कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएपछि कार्यालय सञ्चालनदेखि व्यापार व्यवसायसम्मका लागि भर्चुअल मिटिङको विकल्प रहेन । कोभिड महामारी सुरु भएपछिको यो संकटको समयमै हो भिडियो कन्फरेन्स-वेबिनार जस्ता शब्दावलीको धेरै प्रयोग भएको पनि । कोभिड महामारी संक्रमण रोक्ने प्रयासस्वरूप धेरै देशमा लकडाउन घोषणा भए । लकडाउन घोषणा नगरिएका देशमा पनि ‘वर्क फ्रम होम’को अवधारणा सुरु भयो । लकडाउनकै कारण आन्तरिक हवाई सेवा बन्द हुँदा कार्यालय सञ्चालन गर्नैका लागि पनि भिडियो कन्फरेन्सको उपाय सहयोगी बन्यो ।
प्रायः अन्तर्राष्ट्रिय हवाई सेवा बन्द रहेको अवस्थामा व्यापार र व्यवसायसम्बन्धी भेटघाट ‘भर्चुअल’ नै हुन थाले । यही भर्चुअल मिटिङका लागि धेरै प्रयोग गरिएको माध्यम हो, जुम । एकैपटक धेरै सहभागी जोडिन मिल्ने सुविधाका कारण भिडियो कन्फरेन्सका लागि जुमको प्रयोग छोटो समयमै लोकप्रिय बन्यो । भिडियो कन्फरेन्सका लागि जुमले अरू धेरै सुविधा पनि दिएको छ ।
स्क्रिन सेयर गरेर भिडियो, तस्बिरदेखि आफूले तयार पारेको ‘प्रिजेन्टेसन’ सबै सहभागीलाई देखाउन मिल्नेदेखि मिटिङ सञ्चालकले सबै सहभागीलाई नियन्त्रण गर्न मिल्ने सुविधा जुममा उपलब्ध छ । त्यो संवाद सामाजिक सञ्जाल, न्युज पोर्टल वा अन्य माध्यममार्फत प्रत्यक्ष प्रसारण गर्नसमेत मिल्ने सुविधा जुमले दिएको छ । यहीकारण नेपालमा पनि कोभिड महामारी सुरु भएपछि जुमको प्रयोग धेरै बढेको छ ।
प्रयोगकर्ता बढेसँगै जुम यो संकटको समयमा धेरै कमाइ गर्ने कम्पनीमा परेको छ । भिडियो कन्फरेन्सको सुविधा प्रदायक यो कम्पनीले प्रयोगकर्ताले सुविधाका लागि तिरेको रकमबाट मात्रै होइन, अमेरिकी सेयर बजारबाट पनि प्रशस्तै रकम जम्मा गरेको छ । सन् २०११ मा स्थापित यो कम्पनीले लामो समयदेखि ठूलो व्यापार गर्दै आइरहेका ठूला कम्पनीलाई समेत पछि पारेको छ ।
...
जुममाथि लगानीकर्ताको आकर्षण कोरोना भाइरस सुरु भएसँगै बढेको हो । कम्पनीले मेदेखि जुलाईसम्मको अवधिमा ६६३.५ मिलियन अमेरिकी डलर कमाइ गरेको छ । यो कमाइ गत वर्ष यही अवधिको भन्दा चार गुणा बढी भएको कम्पनीले जनाएको छ । यो वृद्धि ग्राहकहरूले भिडियो कन्फरेन्सका लागि जुमको सेवा लामो समयसम्म प्रयोग गर्न तिरेको रकमबाट भएको कम्पनीले जनाएको छ ।
चारपांग्रे सवारीसाधन निर्माता कम्पनी जेनेरल मोटोर्स, फोर्ड बिमान निर्माता कम्पनी बोइङ र अमेरिकन कफी ब्रान्ड स्टारबक्सजस्ता ठूला कम्पनीको बजार भ्यालुमा जुमले उछिनेको छ ।
कम्पनीले आर्थिक वर्षको दोस्रो चौमासिकसम्म आफ्नो तीन लाख ७० हजार दुई सय ग्राहक भएको जनाएको छ । कम्पनीका अनुसार अप्रिलयता चार महिनाको अवधिमा एक लाख पाँच हजार ग्राहक बढेको छ । अघिल्लो वर्षसम्म जुमको ग्राहक एक लाख पनि थिएन । स्थापना भएको आठ वर्षसम्म पनि जुमको ग्राहक मात्रै ६६ हजार तीन सय थिए ।
कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकलाई सुरक्षित भिडियो संवादको सेवा दिने प्रयास गरिरहेको जनाएको छ । ‘विभिन्न संस्थाहरूले जुमको सुविधा प्रयोग गरी आफ्नो काम जहाँबाट पनि जारी राख्ने प्रयास गरिरहेका छन् । जुमले अहिले जहाँबाट पनि सिक्न सक्ने अवसर दिएको छ ।
हामी हाम्रा ग्राहकहरूलाई उच्चस्तरमा सुरक्षित भिडियो कन्फरेन्स गर्ने सुविधा दिन चाहन्छौँ,’ नयाँ पत्रिकाले इमेलमार्फत गरेको प्रश्नमा जुमका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ) इरिक एस युएनले भनेका छन्, ‘विश्वभरका मानिसलाई जोडिराख्न सफल भएकै कारण हामीले आफ्नो कमाइमा पनि धेरै नाफा गरेका छौँ।’
कोभिड महामारी सुरु भएपछि नै जुममाथिको लगानी अकासिएको हो । सेयर बजारमा यो वर्ष यसअघि नै पाँच गुणाले बढेको जुमको सेयर मूल्य कोभिड महामारीको संक्रमणसँगै बढ्दो अवस्थामा देखिएको छ । यही सोमबार भएको कारोबारमा जुमको सेयर मूल्य २३ प्रतिशतले बढ्यो । मंगलबारको कारोबारमा पनि सुरुवातमै ३३ प्रतिशतले बढेर जुमको प्रतिकित्ता सेयर ४३२.४५ डलर पुग्यो । त्यससँगै जुमको बजार भ्यालु १२२ बिलियन अमेरिकी डलर पुगेको थियो।
कोभिड महामारी सुरु भएपछिको अवधिमा हात पारेको यो आर्थिक समृद्धिसँगै जुमले बजार भ्यालुमा वर्षाैं पुराना ठूला कम्पनीहरूलाई पनि पछि पारेको छ । चारपांग्रे सवारीसाधन निर्माता कम्पनी जेनेरल मोटोर्स, फोर्ड बिमान निर्माता कम्पनी बोइङ र अमेरिकन कफी ब्रान्ड स्टारबक्सजस्ता ठूला कम्पनीको बजार भ्यालुमा जुमले उछिनेको छ ।
...
जुमले जुनको सुरुवातमा ठूलो नोक्सानी बेहोर्नुपर्ने भनी आफ्नो लागि चेतावनी जारी गरेको थियो । कोभिड महामारीको प्रभाव बिस्तारै कम हुने अवस्थामा देखिएको थियो । मान्छेहरू कामका लागि आफ्नो कार्यालय फर्कन थालिसकेका थिए । त्यससँगै जुमले आफ्नो प्रयोगकर्ता घट्न सक्ने अनुमान गरेको थियो । त्यसमा पहिले नै भइसकेका बुकिङसँगै उसको सब्स्क्रिप्सन घट्न सक्ने जुमको अनुमान थियो । त्यसले कम्पनीको आजको यो ठूलो आर्थिक वृद्धि सम्भव थिएन ।
तर, अवस्था फेरि उस्तै भयो । कोभिड संक्रमण अझ बढ्न थाल्यो । मान्छेहरू आफ्नो कार्यालयमा फर्किएर काम गर्न सक्ने अवस्था भएन । कार्यालयकै कामका लागि पनि जुमको प्रयोग फेरि बढ्न थाल्यो । कोभिडको संकट अझै बढ्दै जाँदा जुमको कमाइ र बजार भ्यालु अकासिने अवस्था देखिएको हो । यही अवस्थामा कम्पनीले यो आर्थिक वर्ष (आगामी जनवरीमा सकिने) भित्र २.४ बिलियन अमेरिकी डलर रिभेन्यु उठाउने प्रक्षेपण गरेको छ ।
शताब्दीकै घातक कोभिड महामारीले विश्व मानव जीवन र विश्व अर्थतन्त्रलाई अस्तव्यस्त बनाउँदा जुमलाई भने यही संकट फलदायी बनेको छ । कोभिड महामारीले व्यवसाय, व्यापारिक केन्द्र र कार्यालयहरू मात्रै बन्द गराएन, शैक्षिक संस्थासमेत बन्द गरायो । स्कुल, कलेजलगायत शैक्षिक संस्थाहरूलाई कक्षा सञ्चालन गर्नकै लागि पनि जुमको सहायता लिनु बाध्यता बन्यो । त्यहीकारण जुम निकै छोटो समयमा विश्वको ठूलो जनसंख्याले रुचाएको भिडियो कन्फरेन्स सेवा प्रदायक कम्पनी बन्यो ।
जुम कोभिड महामारीको समयमा कक्टेल पार्टीदेखि अदालतको सुनुवाइ र दैनिक कामकाजका लागि पनि प्रयोगमा आयो । कार्यालयको दैनिक कामकाजदेखि अदालतको सुनुवाइ र विभिन्न शैक्षिक संस्थाहरूको पढाइका लागि समेत प्रयोग गरिने जुम प्राविधिक रूपमा कत्तिको सुरक्षित छ त ? जुमको प्रयोगसँगै यस विषयमा पनि प्रश्न उठ्न थालेको हो । जुमले भने ह्याकरबाट बच्न सबै उपाय अपनाइएको जनाएको छ ।
एजेन्सीको सहयोगमा