बाग्लुङको ढोरपाटनस्थित भुजीखोलामा आएको बाढीबाट ज्यान गुमाएका १४ जनाको शव बिहीबार साँझसम्म फेला परेको छ भने ३८ जना अझै बेपत्ता छन् । बाढीले तटीय क्षेत्रका ३१ घर बगाएको छ भने चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
स्थानीयका अनुसार बेपत्ता हुनेको संख्या ४० भन्दा बढी छ । तर, प्रहरीले भने हालसम्म ३८ जनाको मात्रै विवरण आएको जनाएको छ । ‘बिहीबार साँझसम्म हाम्रो टोलीले १४ जनाको शव फेला पारेको छ भने ३८ जना बेपत्ता भएको विवरण संकलन गरेको छ । चारजना घाइतेलाई उद्धार गरेको छ,’ प्रहरी नायव उपरीक्षक रेग्मीले भने, ‘शुक्रबार बिहानैबाट बेपत्ताहरूको खोजी पुनः सुरु हुन्छ ।’ उद्धार र बेपत्ताको खोजीमा प्रहरी र सेनाको टोली लागिरहेको उनको भनाइ छ । घाइते चारजनाको उद्धार गरी दुईजनालाई थप उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।
शव पहिचानमा समस्या
बाढीमा परेर ज्यान गुमाएका १४ मध्ये १२ जनाको शव पहिचान हुन सकेको छैन । मृतकमध्ये तीन बालक, एक बालिकासहित चारजना पुरुष र ६ जना महिला रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए । जसमा ढोरपाटन नगरपालिका– ९ की २६ वर्षीया केशमाया विक र अन्दाजी ४५ वर्षीय करबहादुर विकको शव मात्रै पहिचान भएको प्रहरीले जनाएको छ ।
शव क्षतविक्षत भएका कारण पहिचान गर्न कठिनाइ भएको हो । एकैपरिवारका आठजनासम्म हराइरहेकाले पनि सनाखतमा समस्या भएको प्रहरी उपरीक्षक रेग्मीले बताए । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले भने, ‘बाढीले बगाएर कसैको शरीरको तल्ला भाग नै छैन, कसैको टाउको नै छैन । कसैको हतखुट्टा छैन त कसैको टाउको छियाछिया भएको छ । यसले गर्दा शव सनाखतमा कठिनाइ भएको हो ।’
७१ घरमा क्षति
बाढीले ढोरपाटन–९ मा मात्रै ७१ घरमा क्षति पुऱ्याएको छ । वडाध्यक्ष हरि घर्तीले आफ्नो वडाको मात्रै ३० भन्दा बढी हराएको बताए । ढोरपाटन–९ बाट सुरु भएको बाढी क्रमशः वडा नम्बर ८, ७, ६, ५ मा पुगेको थियो । सबैभन्दा धेरै वडा नम्बर ९ क्षति पुगेको छ ।
३८ जना बेपत्ता
बाढीले बेपत्ता बनाउनेमा ढोरपाटन नगरपालिका–९ का नारायण विक, टेकमाया विक, टेकमायाकी एक वर्षीया छोरी, सोही ठाउँका मनीषा विक, शनि विक, रोशन विक, रवि विक, नाम नखुलेका १५ दिनको शिशु, मनकुमारी विक, केशमाया विक, प्रेम पुन, कुमारी विक, समुद्र विक, पुनम विक, जितबहादुर घर्ती, राजु घर्ती, करमती बुढा, रिनाकुमारी बुढा, दिमाया पुन, प्रकृति पुन, डोटी पुन, हेमबहादुर विक, उजेली विक, दलु विक, र १० महिनाको नाम नखुलेको बालक छन् । यसैगरी सोही स्थानका करबहादु विक, हस्तमाया विक, तुलमती घर्ती, कौशिला पुन, विशाल पुन, धनमाया विक र पाउरहाउस बस्ने धनमाया विक पनि बेपत्ता रहेका प्रहरीले जनाएको छ ।
अन्दाजी तीन वर्षको नाम नखुलेको एक बालक, सोही वडाको सुप्राङ बस्ने वीरे विकका श्रीमती र दुई छोराछोरीसहित चारजनाको परिवार र गलकोट नगरपालिका–४ स्थायी घर भै ढोरपाटन घुम्न गएका नवीन भण्डारी बेपत्ता भएको प्रहरीले जनाएको छ ।