डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई बृहत् नागरिक आन्दोलनको आग्रह

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । बृहत् नागरिक आन्दोलनले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा र स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै तत्काल वार्ता प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ।

स्वास्थ्य शिक्षा र सार्वजनिक स्वास्थ्य सेवामा सुधार, चिकित्सा शिक्षामा व्याप्त विकृति तथा विसंगतिको अन्त्य र आमनागरिकको समान पहुँचका लागि लामो समयदेखि संघर्षरत डा. केसीको स्वास्थ्य अवस्था अनशन लम्बिँदै जाँदा जोखिमपूर्ण बन्दै गएको भन्दै आन्दोलनले चिन्ता व्यक्त गरेको हो।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले डा. केसीले उठाएका स्वास्थ्य शिक्षा र सार्वजनिक स्वास्थ्य सेवासम्बन्धी मुद्दा कुनै व्यक्तिविशेषको सरोकार मात्र नभई आमनागरिकको मौलिक अधिकार, सामाजिक न्याय र राज्यको सार्वजनिक दायित्वसँग जोडिएको विषय भएको जनाएको छ।

आन्दोलनले डा. केसीको जीवनरक्षा र स्वास्थ्य उपचारलाई सर्वोच्च प्राथमिकता दिई तत्काल आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै, उनले उठाएका मागप्रति गम्भीर र संवेदनशील हुँदै तत्काल उच्चस्तरीय वार्ता टोली गठन गर्न र सार्थक संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न आग्रह गरेको छ।

विगतमा भएका सहमति तथा प्रतिबद्धता कार्यान्वयन गर्दै स्वास्थ्य शिक्षा र सार्वजनिक स्वास्थ्य सेवामा सुधारका ठोस कदम चाल्नुपर्ने आन्दोलनको माग छ। संवाद, सहमति र मानवीय संवेदनशीलताका आधारमा समस्याको समाधान खोज्नसमेत सरकारलाई आग्रह गरिएको छ।

‘नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व हो। कुनै पनि माग वा असहमतिभन्दा माथि मानव जीवन र मानवीय मर्यादा रहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

डा. केसीको जीवनरक्षा, उनका मागको सम्बोधन तथा स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारका लागि सरकारले तत्काल जिम्मेवार पहल गर्नुपर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ।

 

सुझावित समाचार