बुटवल- लुम्बिनी प्रदेश सभाको दोस्रो प्रदेश सभा अवधिमा आठवटा अधिवेशन सञ्चालन हुँदा झन्डै एक हजार चार सय दिन खर्च भएका छन् । तर, यति लामो समयमा जम्मा १३६ वटा बैठक बसेका छन् । ११६ दिनमा बसेका १३६ वटा ती बैठकमा प्रदेश सभाले कुल २२० घण्टा मात्रै समय खर्च गरेको कार्यव्यवस्था शाखाको विवरणले देखाएको छ । पहिलो अधिवेशन ०७९ पुस १८ गते सुरु भएको थियो । पहिलो अधिवेशन सुरु भएको मितिले अहिलेको मिति ०८३ असोज ३० गतेसम्म १३८३ दिन हुन आउँछ ।
उपलब्ध तथ्यांकअनुसार पहिलोदेखि आठौँ अधिवेशनसम्म बैठक संख्या र बैठक बसेको समय फरक–फरक देखिन्छ । पहिलो अधिवेशन २०७९ पुस १८ देखि ०८० वैशाख २१ सम्म चलेको थियो । यति लामो समयमा जम्मा नौ दिनमा १० वटा बैठकमा सीमित बन्यो पहिलो अधिवेशन । त्यसका लागि १३ घण्टा ४५ मिनेट समय खर्च भएको थियो ।
दोस्रो अधिवेशनमा भने पहिलो बैठकको तुलनामा बैठक संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ । यस अधिवेशनमा २५ बैठक बसेका थिए भने कुल ४३ घण्टा ४८ मिनेट समय खर्च भएको थियो । दोस्रो अधिवेशन ०८० जेठ १२ देखि भदौ २६ सम्म चलेको विवरणमा उल्लेख छ । तर, यति लामो समयमा पनि जम्मा २१ दिनमा २५ वटा बैठकमा सीमित बनेको थियो यो अधिवेशन ।
प्रदेश सभा सचिवालयका प्रवक्ता उपसचिव लोकमणि पाण्डेले उपलब्ध गराएको विवरणअनुसार तेस्रो अधिवेशन सबैभन्दा छोटो देखिन्छ । ०८० फागुन १८ देखि चैत २ सम्मको अवधिमा जम्मा तीन दिनमा तीनवटा बैठक मात्रै बसेका थिए । बैठकमा जम्मा दुई घण्टा ४५ मिनेट समय खर्च भएको थियो ।
चौथो अधिवेशनमा भने प्रदेश सभा अन्य अधिवेशनहरूमा भन्दा बढी सक्रिय देखिएको छ । ०८० चैत २२ देखि २०८१ भदौ ३१ सम्म चलेको चौथो अधिवेशनमा जम्मा २८ दिनमा ३५ वटा बैठक बसेका थिए । यी बैठकमा ५२ घण्टा ४२ मिनेट समय खर्च भएको थियो ।
पाँचौँ अधिवेशनमा १० दिनमा ११ बैठक बसेका थिए । यो अधिवेशन ०८१ पुस १६ देखि फागुन ५ सम्म चलेको थियो । यो अधिवेशनमा १५ घण्टा समय खर्च भएको थियो । २०८२ वैशाख ३१ देखि असार १८ सम्म जम्मा १५ दिनमा १७ बैठक छैटौँ अधिवेशनमा भएका थिए । यो अधिवेशनमा २८ घण्टा ५६ मिनेट समय खर्च भएको थियो ।
०८२ मंसिर ८ देखि २०८३ वैशाख १० सम्म जम्मा १५ दिनमा १६ बैठक सातौँ अधिवेशनमा भएका थिए । यो अवधिमा जम्मा २४ घण्टा ५८ मिनेट मात्रै समय खर्च भएको थियो । आठौँमा १९ वटा बैठक बसेका छन् । ०८३ वैशाख १७ देखि भदौ १ सम्म जम्मा १५ दिनमा १९ बैठक गर्दा आठौँ अधिवेशनमा ३८ घण्टा ६ मिनेट खर्च भएको विवरणमा उल्लेख छ ।
यसरी हेर्दा बैठक संख्या र बैठक बसेको समय दुवैका आधारमा चौथो अधिवेशन सबैभन्दा अगाडि देखिन्छ । तेस्रो अधिवेशन भने दुवै सूचकमा सबैभन्दा तल छ । आठ अधिवेशनका सबै बैठक जोड्दा प्रदेश सभा बैठकमा २२० घण्टा समय खर्च भएको देखिन्छ । औसतमा एउटा बैठकका लागि करिब एक घण्टा ३७ मिनेट समय खर्च भएको हुन्छ ।
दोस्रो प्रदेश सभाले पारित गर्यो जम्मा २१ विधेयक
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म जम्मा २६ वटा विधेयक दर्ता भएका छन् । तीमध्ये २१ वटा विधेयक पारित भएका छन् भने दुईवटा विचाराधीन अवस्थामा छन् । प्रदेश सभा सचिवालयको विधेयक विवरणअनुसार एउटा विधेयक सभामा पेस हुन बाँकी छ भने दुईवटा विधेयकको लगतकट्टा गरिएको छ । पारित भएका विधेयकमा अन्य सरोकारका भन्दा बजेटसँग सरोकार राख्ने विधेयकको संख्या बढी रहेको छ । २०७९ पुस १८ गतेदेखि सुरु भएको दोस्रो प्रदेश सभाले कानुन निर्माण, प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तथा सरकारका कामकारबाहीमाथि संसदीय निगरानी गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ ।