काठमाडौं- काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला बिक्रीका लागि तीन दर्जन ठाउँ तोकेको छ । महानगरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा माला सरोकारवाला निकायसँगको समन्वयमा बिक्रीका लागि निश्चित ठाउँ तोकिएको बताएको हो ।
तर, प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेमा जफत गरी गरिने चेतावनी महानगरले दिएको छ ।
‘दीपावली पर्वका अवसरमा यस वर्ष काठमाडौं महानगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरण नगर्नु–नगराउनुहुन र स्वदेशी फूल र मालाको बिक्री–वितरणलाई प्राथमिकता दिई कार्य गर्न–गराउन सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा हार्दिक अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ, ‘यो सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
फूलमाला बिक्रीका लागि तोकिएका ठाउँ
महानगरले फूलमाला बिक्रीका लागि एनबी सेन्टर (नयाँ बानेश्वर), बिग मार्ट (शंखमूल), आइप्लेक्स मल (नयाँ बानेश्वर) सेल्स बेरी (मध्यबानेश्वर), फोनेक्स टावर (बत्तीसपुतली), तीनकुने चौर, सिफल चौर, एसी कम्लेक्स (चाबहिल), चाबहिल गणेशस्थान, तरकारी बजार (चाबहिल) र केएल टावरअगाडि (चाबहिल) तोकेको छ । त्यस्तै, स्वयम्भू (धर्म चक्र पार्क), कालीमाटी ( कालीमाटी बेंक्युट), कालीमाटी द्यौखेल, कलंकी (भाटभटेनी), नयाँ बजार (भ्याली कोल्ड स्टोर), माछापोखरी (बुद्ध महल), माछापोखरी (गुणस्तर खाल्डो), हाँडीगाउँ (५ नम्बर वडाअगाडिको डबली), हाँडीगाउँ (५ नम्बर वडा गणेश मन्दिर डबली), कोइराला स्मार्ट (२६ नम्बर वडा सामाखुसी), सेल्सबेरी (महाराजगन्ज), गोंगबु ( बिगमार्ट), चप्पल कारखाना (बिगमार्ट), बालुवाटार (बिगमार्ट), कमलादी (आइटी बिल्डिङ), पुतलीसडक (स्मार्ट स्मल), अनामनगर (भाटभटेनी), टेबहाल मन्दिरपरिसर, सुन्धारा (काठमाडौं मल), न्युप्लाजा बज्र कम्पलेक्स, गुड मार्ट, लगन, भृकुटीमण्डपलाई पनि फूलमाला बिक्रीका लागि ठाउँ तोकेको सूचनामा उल्लेख छ ।