काठमाडाैं- सरकारले युवालाई कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सिप प्रदान गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको एआईसम्बन्धी तालिममा ६८ हजारभन्दा बढी आवेदन परेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुन लागेको ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषय निःशुल्क अनलाइन तालिममा ६८ हजारभन्दा बढी आवेदन प्राप्त भएको बताइएको छ ।
सुरुमा दुई हजारलाई लक्षित गरी आवेदन माग गरिएकामा अपेक्षाभन्दा धेरै प्राप्त भएपछि सबै आवेदकलाई तालिममा सहभागी गराउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिष्ठानका अनुसार सुरुमा १८–१९ कात्तिकमा चारवटा छुट्टाछुट्टै सत्रमा प्रतिसत्र पाँच सयजनाका दरले तालिम प्रदान गर्ने व्यवस्था गरिएको थियो । तर, देशभरका युवाले देखाएको उत्साह र सहभागितालाई ध्यानमा राख्दै तालिमको पहुँच विस्तार गरी सबै आवेदकलाई सहभागी गराउने निर्णय भएको हो ।
यसअघि पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा साढे २६ हजारभन्दा बढी आवेदन प्राप्त भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
तालिममा मुख्य रूपमा च्याटजिपिटी, क्लाउडलगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, उपयोगी प्रम्प्ट लेखन, इमेल तथा कार्यालयसम्बन्धी कागजात तयार गर्ने, प्रेजेन्टेसन निर्माण गर्ने, तस्बिर तथा छोटा भिडियो बनाउने र एआईबाट प्राप्त जानकारीको सत्यता जाँच्नेलगायतका विषय समेटिनेछन् ।
यसले सहभागीलाई एआई प्रविधिसँग परिचित गराउने र दैनिक जीवन, अध्ययन, रोजगारी तथा व्यावसायिक कार्यमा यस उपकरणको प्रयोग गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।