काठमाडौं/ नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल प्रवर्द्धन गर्ने क्रममा पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डले प्रतियोगिता आयोजना गरेको हो । यसमार्फत कुकुर तिहारको सांस्कृतिक महŒ्व, मानिस र कुकुरबिचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।
नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा रहेको छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मिठा परिकार खुवाउने र पूजा गरिन्छ । यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्य प्रतियोगिताले राखेको छ ।
प्रतियोगितामा सहभागी हुनेले तयार पारेको रिल अंग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ । प्रतियोगितामा सहभागी हुन २१ नोभेम्बरसम्म भिडियो पठाउन सकिनेछ ।
डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।