जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका– ७, दल्लीमा घर लिपपोत गर्न रातो माटो खन्ने क्रममा ढिस्को खस्दा चार महिला घाइते भएका छन्।
बुधबार बिहान माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरू घाइते भएका हुन्। घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ११, चौरका ३० वर्षीया नवीना वली, ३० वर्षीया रमिता सार्की, १७ वर्षीया पूजा सार्की र १६ वर्षीया हिमाली सार्की रहेका छन्।
माटोको ढिस्को खस्दा नवीना वलीको दायाँ हात, दायाँ खुट्टा र कम्मरमा चोट लागेको छ। रमिता सार्कीको दायाँ खुट्टा, पूजा सार्कीको बायाँ खुट्टा र कम्मर तथा हिमाली सार्कीको कम्मर र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। चारैजनाको अवस्था मध्यम रहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक किरण सापकोटाको कमान्डमा सातजनाको प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको तत्काल उद्धार गरेको थियो।
उनीहरूलाई उपचारका लागि नलगाड नगर अस्पताल दल्लीमा पुर्याइएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले रातो माटो खन्ने क्रममा ढिस्को खसेर चार महिला घाइते भएको जानकारी दिए।
प्रहरी टोली तत्काल घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको उनले बताए।