काठमाडौं । जसपा नेपाल उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले पत्रकार तथा सञ्चारमाध्यममाथि प्रहरी हस्तक्षेपको निन्दा गरेका छन् ।
‘प्रेस र अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आत्मा हो । यसमाथिको हस्तक्षेप कुनै पनि हालतमा हामीलाई सैह्य हुँदैन,’ उनले भनेका छन् । पछिल्लो समयमा सरकारको रवैयाले लोकततन्त्रमाथि संकट देखिन थालेको र लोकतन्त्रमाथि खतराको संकेत देखिएको सोनलले बताए ।
‘नेपालमा लोकतन्त्रका लागि भएका सबै आन्दोलनहरुमा हामी राजनीतिक दल र पत्रकारहरू सँगसँगै छौँ । प्रेस स्वतन्त्रताको मामिलामा हामी सधैँ तपाईंहरूको साथमा उभिनेछौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने तथा सञ्चारमाध्यमहरूमा अवाञ्छित हस्तक्षेप गरेका विगतका शासकहरूको हविगत हामीले देखेका छौँ,’ उनले भने, ‘पत्रकारहरूमाथि आतंक सिर्जना गर्ने कार्य बन्द होस् । हामी प्रेस स्वतन्त्रतामा कसैसँग कुनै पनि हालतमा सम्झौता गर्दैनौँ।’