खैरो हेरोइन र पेस्तोलसहित तीनजना पक्राउ, प्रहरीको गोली लागेर दुईजना घाइते

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले पाँच सय ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली नागरिक रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतमा बसेर नेपालमा लागुऔषध आपूर्ति गर्ने गिरोहबारे लामो समयदेखि निगरानी भइरहेको थियो। सोही क्रममा भारतको अररियाबाट मोरङको रतुवामाई नगरपालिका– ६ तर्फ दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई कात्तिक १२ गते नियन्त्रणमा लिन खोजिएको थियो।

प्रहरीले चेकजाँच गर्न खोज्दा भारतीय नागरिक २२ वर्षीय दीपककुमार बोसाकले आफूसँग रहेको पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गर्न खोजेको ब्युरोले जनाएको छ। प्रहरीले चेतावनीस्वरूप पाँच राउन्ड हवाई फायर गर्दा पनि उनले पेस्तोल ताकिरहेपछि प्रहरीले गोली चलाएको थियो।

प्रहरीको गोली लागेर दीपकको बायाँ खुट्टाको घुँडामुनि एक राउन्ड र अर्का भारतीय नागरिक ४० वर्षीय पुरनकुमार बोसाकको दाहिने खुट्टाको घुँडामुनि दुई राउन्ड गोली लागेको छ। घाइते दुवैको रतुवामाई नगर अस्पताल, झुर्कियामा उपचार भइरहेको छ।

पक्राउ पर्ने तेस्रो व्यक्ति मोरङको रतुवामाई नगरपालिका– १ निवासी ३५ वर्षीय योगेन्द्र ठाकुर रहेका छन्। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङमा बुझाइएको ब्युरोले जनाएको छ। ठाकुर शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले दीपककुमार बोसाकको साथबाट पाँच सय ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको छ। यसका अतिरिक्त दुई थान मोटरसाइकल र तीन थान मोबाइल पनि बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

 

सुझावित समाचार