ताप्लेजुङ/ ताप्लेजुङका हिमाली क्षेत्रमा हिमपात भएको छ । कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने मुख्य सिजनमै निरन्तर हिमपात भएपछि पर्यटन गतिविधि प्रभावित बनेको छ ।
निरन्तर पानी साथै हिउँ परिरहेको छ । सामान्यतया यो समयमा आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ हुने होटेल र पदमार्गमा यसपटक प्रतिकूल मौसमले असर पुर्याएको छ । हिमपातका कारण पदमार्ग हिउँले ढाकिनुका साथै आवतजावत कठिन भएपछि पर्यटकको यात्रा प्रभावित भएको छ ।
कञ्चनजंघा क्षेत्रको लोनार्क, घुन्सा, खम्बाचेनलगायत पर्यटकीय बस्तीमा यो समय पर्यटकको बाक्लो चहलपहल हुने गर्दछ । गाइड, भरिया र होटेल व्यवसायीलाई भ्याइनभ्याइ हुने समयमा यसपटक भने हिमपातले व्यवसायीको अपेक्षामा असर पुर्याएको छ ।
स्थानीय होटेल व्यवसायी तेन्जिङ सेराप शेर्पाकाले हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा पर्यटक आउन समस्या हुने बताए । कञ्चनजंघा क्षेत्र पर्यटनमा निर्भर स्थानीय बासिन्दाको आम्दानीको मुख्य समय यही हो ।
वर्षभरि पर्यटकको प्रतीक्षामा रहने होटेल व्यवसायी, गाइड र भरियाले यही सिजनमा राम्रो आम्दानी गर्ने अपेक्षा राख्छन्। तर, पर्यटकको चहलपहल बढ्ने समयमा नै हिमपात र प्रतिकूल मौसम भएपछि उनीहरूको आम्दानी प्रभावित हुने चिन्ता बढेको छ ।
लोनार्क आसपासका घ्याङ पिक, धिमी गिल्ला, १५ पिक, नेपाल पिक, ट्विन्स पिक, किरात चुली, पाथीभरा पिक र जनकचुलीलगायत हिमाल हिउँले सेताम्मे बनेका छन् । हिमालको दृश्य आकर्षक देखिए पनि लगातारको हिमपातले पदयात्रा सहज नहुने व्यवसायीको भनाइ छ ।
हिउँले ढाकिएका पदमार्ग, चिप्लो उकालो र मौसमको अनिश्चितताले पर्यटकको यात्रा जोखिमपूर्ण बनाएको छ । घुन्सा, खम्बाचेन र आसपासका बस्तीमा सामान्यतया यो समयमा होटेल व्यवसायी, गाइड र भरियालाई पर्यटकको व्यवस्थापन गर्न भ्याइनभ्याइ हुन्छ। तर, यसपटक मौसमले साथ दिए पनि यो यो हिमपातले पर्यटकको आवागमन सहज भने नभएको बताएका छन् ।
कञ्चनजंघा क्षेत्रको पर्यटन व्यवसाय मौसमी आम्दानीमा निर्भर छ । त्यसैले पर्यटकको आवागमन बढ्ने मुख्य समयमा भएको हिमपातले यस क्षेत्रको होटेल व्यवसाय, पदयात्रा सेवा र स्थानीय रोजगारीमा समेत प्रत्यक्ष असर पार्ने देखिएको छ । मौसममा सुधार आएपछि रोकिएको पर्यटकको चहलपहल फेरि बढ्ने आशामा स्थानीय व्यवसायी छन् ।
जिल्लामा आएका २५० पर्यटकहरू हिमाली क्षेत्रमा सुरक्षित रहेका छन्। प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा यात्रा गरिरहेका पर्यटक तथा यात्रुहरू सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए।
कञ्चनजंघा आधार शिविर तथा सिङ्जेमा ताल हुँदै तिब्बत नाकातर्फ भ्रमणमा गएका २५० जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक विभिन्न होटेल र स्थानीयका घरमा सुरक्षित रूपमा बसिरहेको प्रजिअ दाहालले बताए।
मौसममा सुधार नआएसम्म जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न सुरक्षा निकाय, स्थानीय तह तथा स्थानीय बासिन्दामार्फत सूचना प्रवाह भइरहेको उनले बताए। पर्यटक तथा यात्रुलाई मौसमको अवस्थाबारे समयमै जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ दाहालको भनाइ छ ।