उदयपुर- उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ हवाईफिल्डको थरुहट रंगशाला परिसरमा बन्दै गरेको मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह अझै पूरा हुन सकेको छैन । सभाहल निर्माणका लागि हालसम्म ३१ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
निर्माण सुरु भएको दश वर्ष पुग्न लाग्दा पनि सभाहल अझै पूर्ण रूपमा सम्पन्न हुन नसक्दा रेखदेखको अभावमा भवनका विभिन्न संरचना टुटफुट हुन थालेका छन् । भित्री भागका सिलिङका पाता खसेका छन्, सिसा फुटेका छन् भने बाहिरी परिसर काँसघारीले घेरिएको छ ।
सरकारी पक्षले सभाहलको करिब ९० प्रतिशत काम सम्पन्न भएको दाबी गरे पनि बाँकी कामका लागि अझै बजेट आवश्यक रहेको जनाएको छ । निर्माण सुरु भएको करिब एक दशक पुग्न लाग्दा पनि आयोजना पूरा हुन नसक्दा करोडौँ रुपैयाँ खर्च भएको संरचना प्रयोगमा आउनुअघि नै जीर्ण बन्न थालेको हो ।
सरकारले आर्थिक वर्ष ०७२/७३ मा देशभरका २५ नगरपालिकालाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्ने कार्यक्रमअन्तर्गत आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्डका सभाहल निर्माण गर्ने योजना अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत गाईघाटमा सभाहल निर्माण सुरु गरिएको हो । १० वैशाख ०७४ बाट तीन वर्षभित्र अर्थात् १० वैशाख ०७७ वैशाखसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, निर्धारित समय सकिएको लामो समय बितिसक्दा पनि आयोजना अझै अलपत्र छ ।
स्थानीय मुना दाहाल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि सभाहल पूरा नभएको बताउँछिन् । ‘निर्माण सुरु भएको दश वर्ष पुग्न लाग्दा पनि किन पूरा हुन सकेन, त्यो थाहा छैन,’ उनले भनिन्, ‘अहिले त काँसघारीले भवन नै घेरिएको छ । राति बत्ती बल्दा मान्छे पनि बस्छन् जस्तो लाग्छ ।’
सभाहलको जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराजको मातहतमा छ । कार्यालयका अनुसार सभाहलको विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) लागत २४ करोड १३ लाख ५४ हजार रुपैयाँ थियो । पहिलो फेजमा रविना/जोशी/पवित्रा जेभीले कन्टिन्जेन्सी र भ्याटबाहेक २४ करोड नौ लाख ४१ हजार रुपैयाँ पैसामा ठेक्का पाएको थियो ।
निर्माण सुरु भएको एक वर्षपछि परिमार्जित स्टिमेट अर्थात् भेरिएसन अर्डर गर्दा लागत २७ करोड ७० लाख १६ हजार रुपैयाँ पुगेको साइट इन्जिनियर सुशील चौधरीले बताए । उनले भने, ‘पहिलो ठेकेदारले काममा ढिलाइ गरेपछि बाँकी कामका लागि दोस्रोपटक ठेक्का लगाइएको हौँ । अहिले दोस्रो फेजको काम भइरहेको छ ।’
चौधरीका अनुसार सुनकोसी कन्ट्रक्सन, काठमाडौंले १८ करोड दुई लाख १६ हजार रुपैयाँमा १४ मंसिर ०७९ मा ठेक्का पाएको थियो । १३ जेठ ०८१ भित्र काम सक्ने सम्झौता भए पनि निर्धारित समयमा काम नसकिएपछि दुईपटक म्याद थप गरिएको छ । उनले भने, ‘यसमा डिपिआरभन्दा बढी खर्च झइसकेको छ । अभै पूरा हुन बजेटको अभाव हुन्छ । यसमा पार्किङलगायतका फिनिसिङको लागि बजेट अपुग छ ।’
चौधरीका अनुसार अझै केही कामका लागि बजेट पुग्दैन । उनले भने, ‘हालसम्म ३१ करोडभन्दा बढी खर्च भइसकेको छ । पहिलो चरणको निर्माण गरेको कम्पनीको केही बिलसमेत भुक्तानी हुन बाँकी छ ।’ पहिलो ठेकेदार कम्पनी रविना/जोशी/पवित्रा जेभीका सञ्चालक सुदीप खत्रीले आफूहरूको तीन करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको बताए । उनले भने, ‘सम्झौताअनुसार काम गर्न दिएनन् । अहिले भुक्तानी माग्न उच्च अदालत पाटनमा मुद्दासमेत दायर गरेका छौँ ।’ दोस्रो चरणको निर्माणमा कार्यरत इन्जिनियर निरज कर्णले विदेशबाट ल्याउनुपर्ने सामग्री ढिला हुँदा काम प्रभावित भएको बताए । उनका अनुसार कुर्सी, कार्पेट, वालप्यानल र साउन्ड सिस्टमलगायतका काम बाँकी छन् ।
करिब दुई बिघा क्षेत्रमा निर्माण भइरहेको सभाहलमा एक हजार पाँच सय क्षमताको ठूलो र पाँच सय क्षमताको सानो गरी दुई सभाकक्ष, पार्किङ, शौचालय, अतिथिगृह, चमेनागृह र कर्मचारी आवासलगायतका संरचना रहनेछन् ।