काठमाडौं/ जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन दलित परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका स्थानीयले पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
समितिका अनुसार गढवा गाउँपालिका-३ (साबिकको गोबरडिया गाविस-६ ख) का ५ परिवार, लमही नगरपालिका-३ (साबिकको सोनपुर-५ क) का २ परिवार र राप्ती गाउँपालिका-१ (साबिकको लालमाटिया-३ त) का १ परिवारले जग्गाधनी पुर्जा पाएका हुन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। सोही नीतिअनुसार भूमिहीनहरूको समस्या दीर्घकालीन रूपमा हल गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाको मालिक बनाउने उद्देश्यले लालपुर्जा वितरण कार्यलाई प्रभावकारी रूपमा अघि बढाइएको समितिले जनाएको छ।