काठमाडाैं- सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)मा १२ करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता र संगठित ठगी गरेको अभियोगमा संस्थानका पूर्वमहाप्रबन्धक एवं योजना महाशाखा प्रमुख सञ्जीव झासहित आठजना उच्च अधिकारी तथा कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
संस्थानका प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्र प्रमुख तथा कर्मचारीको पूर्वनियोजित योजना र मिलेमतोमा संगठित समूह खडा गरी १२ करोड १३ लाख ४३ हजार गैरकानुनी लाभ उठाई संस्थानलाई प्रत्यक्ष आर्थिक हानिनोक्सानी पुर्याएको प्रहरीको दाबी छ ।
पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज रामकेवल राय छन् ।
त्यस्तै, बागमती धुलो दूध कारखाना हेटौँडामा कार्यरत भरपाई पदका कर्मचारी जितेन्द्र्रकुमार यादव, नवलपुर तथा गरुडा चिस्यान केन्द्रका इन्चार्ज नवीन राय यादव, माडी चिस्यान केन्द्रका दैनिक पारिश्रमिक कर्मचारी शिवनन्दन राय र माडी चिस्यान केन्द्रका इन्चार्ज विखबहादुर भण्डारी पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई शुक्रबार काठमाडौं, कास्की, सर्लाही र चितवनका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार संस्थानका प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुसार संगठित सञ्जाल बनाएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएका थिए । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।