सम्पूर्ण मध्यपूर्वलाई चपेटामा लिन सक्छ यमन संकटले

बुधबार, २८ असोज, २०८३
प्रिन्ट संस्करण
  • मध्यपूर्वको बहुआयामिक संकटको जड इरानविरुद्ध अमेरिकाले रोजेको युद्ध नै देखिन्छ, जबसम्म वासिंटन र तेहरानले सम्झौता गर्दैनन् तबसम्म जोखिम कायमै रहनेछ

मध्यपूर्वले हालैका वर्षमा हिंसाका धेरै घटना देखेको छ । फेब्रुअरीबाट सुरु भएको अमेरिका र इरानबिचको द्वन्द्वले यसै पनि चर्चा पाएको छ । तर, कमै चर्चामा भए पनि हुथी विद्रोही तथा यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार–साउदी अरबको गठबन्धनबिचको द्वन्द्व पनि यस क्षेत्रका उत्तिकै गम्भीर परिणाम निम्त्याउने खालको छ । सुरुमा यमनको गृहयुद्धमा सीमित यस द्वन्द्वको जटिलतालाई कम आँक्न मिल्दैन । यो हिंसामा एकातर्फ मध्यपूर्वका दुई प्रमुख क्षेत्रीय शक्ति इरान र साउदी अरब प्रोक्सीका समर्थकका रूपमा जोडिएका छन् । साथै ‘स्ट्रेट अफ हर्मुज’लाई लिएर इरानसँग चलिरहेको अमेरिका–इजरायलको तनावसँग पनि यो तनाव जोडिन्छ ।

इरानले हुथीहरू (जसको खास नाम ‘अन्सार अल्लाह’ हो, जसको अर्थ ‘ईश्वरका अनुयायी’ भन्ने हुन्छ)लाई समर्थन गर्छ भने साउदी अरबले यमनी सरकार (जसलाई आजकल ‘राष्ट्रपतीय नेतृत्व परिषद्’ भन्ने गरिन्छ) लाई साथ दिन्छ । अमेरिका पनि आफ्नो वास्तविक सहयोगी साउदी अरबको पक्षमा उभिएको छ । उता रुस र चीन भने अप्रत्यक्ष रूपमा इरानको पक्षमा छन् । साथै, रियादका अन्य क्षेत्रीय सहयोगी टर्की र पाकिस्तानले भर्खरै आफूहरूबिच भएको ‘पारस्परिक रक्षा सम्झौता’ कार्यान्वयन गर्न र साउदी अरबमाथि पुनः आक्रमण भएमा आफ्ना सेना त्यस भेगमा परिचालन गर्न सहमति जनाएका छन् । यस द्वन्द्वमा धेरै पक्ष संलग्न भएकाले यो छिटै नियन्त्रणबाहिर जान सक्छ । परिणामस्वरूप सम्पूर्ण मध्यपूर्व नै आफ्नो चपेटामा लिँदै विश्वव्यापी इन्धन आपूर्तिलाई थप अस्थिर बनाउन सक्छ ।

हुथीको बढ्दो प्रभाव
पछिल्लो केही समयदेखि अमेरिका–इरान द्वन्द्व गतिरोधको अवस्थामा छ । तेहरान ‘स्ट्रेट अफ हर्मुज’मा आफ्नो नियन्त्रण रहेको कुरामा अडिग छ । युद्धअघि विश्वको दैनिक तेल र तरल प्राकृतिक ग्यास आपूर्तिको २० प्रतिशत हिस्सा तेल बाहिरिने यो समुद्रीमार्गमाथि इरान पकड गुमाउन चाहँदैन । उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो द्वन्द्व कसरी अन्त्य गर्ने भन्ने विषयमा दोधारमा देखिन्छन् । अहिलेसम्म न त अमेरिकाको सैन्य शक्तिले, न त उसको अधिकतम आर्थिक दबाबले नै इरानलाई झुकाउन सकेको छ ।

तेहरानका सहयोगी शक्ति हुथीहरूले राजधानी सानासहित यमनको एकतिहाइ भूभाग नियन्त्रणमा राखेका छन् । सो समूहले इरानमाथि अमेरिका–इजरायलले आक्रमण सुरु गरेपछि इरानप्रति खुलेरै समर्थन घोषणा गरेको थियो । उनीहरूले पछिल्लो एक महिनाभित्रै एक बलियो सैन्य अभियानमार्फत ‘बाब अल–मान्डेब’मा आफ्नो नियन्त्रण स्थापित गरे । लाल सागरलाई हिन्द महासागरसँग जोड्ने महŒवपूर्ण जलमार्ग बाब अल–मान्डेबबाट थप इन्धनको बहाव रोक्न सम्भव हुन्छ ।

जुलाईयता हुथीहरू यमनभित्र थप भूभागमा विस्तार भएका छन् । उनीहरूको लक्ष्य सम्पूर्ण देशमाथि कब्जा गर्ने देखिन्छ । यसबिच सो समूहले साउदी अरबको धेरै भित्री भागमा रहेको तेलजन्य संरचना, ट्यांकरहरू र रियादस्थित मुख्य विमानस्थलमा पनि आक्रमण गर्दै आएको छ । केहीअघि साउदीको ‘पूर्व–पश्चिम पाइपलाइन’मा हुथीहरूले आक्रमण गरेर गम्भीर क्षति पुर्याइदिए । हर्मुजको अवरोध छल्न प्रयोग भइरहेको यस पाइपलाइनबाट तेलको प्रवाह अहिले अवरुद्ध छ । रियादले खाडी क्षेत्रमा उत्खनन् हुने आफ्नो तेल यही पाइपलाइनमार्फत लाल सागरतर्फ झारेर ‘बाब अल–मन्डब’ हुँदै विश्वभर निर्यात गर्दै आएको थियो ।

हुथी विद्रोहीको नियन्त्रणमा रहेका भूमि फिर्ता लिने प्रयासमा साउदी सेनाका साथमा यमनी सेनाले हालैका दिनमा जवाफी कारबाही सुरु गरेको छ । यसले यमनमा पुनः भीषण गृहयुद्धको सम्भावना बढाएको छ । गृहयुद्ध चर्किए यमनी जनता गम्भीर मानवीय संकटमा फस्नेछन् ।

रियादले आफ्नो साझेदार शक्ति वासिंटनलाई पनि हुथीहरूमाथि हवाई आक्रमण गर्न आग्रह गरेको थियो । तर, ट्रम्पले यमनयुद्धमा फेरि प्रत्यक्ष संलग्न हुने कुरालाई अस्वीकार गरिदिए । त्यसको सट्टा उनले अमेरिकी गुप्तचर निकाय र सैन्य विश्लेषकको सहयोग उपलब्ध गराउने प्रस्ताव राखे । इरानसँगको युद्ध पुनः सुरु हुने सम्भावना कायमै रहेको अवस्थामा ट्रम्प अमेरिका–इरान द्वन्द्वलाई विस्तार गर्न वा अमेरिकालाई अर्को द्वन्द्वमा फसाउन अनिच्छुक देखिएका छन् । ट्रम्पलाई अहिले मुख्य चिन्ता मध्यावधि निर्वाचन आउन एक महिना मात्र बाँकी रहेको अवस्थामा रिपब्लिकन पार्टीको संसद्मा सिट संख्या घट्ला भन्नेमा छ ।

अमेरिकाले युद्धमा प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेको भए पनि रियादले आफ्ना नयाँ सुरक्षा साझेदारहरू पाकिस्तान र टर्कीबाट सहयोगको अपेक्षा गरेको छ । यसै साता साउदी अरबमा सैन्य बल तैनाथ गर्ने निर्णय गर्नुअघि यी दुवै देश युद्धमा संलग्न हुनेबारे विशेष सतर्क देखिएका थिए । उनीहरू साउदी अरबलाई सहयोग गर्नैपर्ने आवश्यकता र इरान तथा उसका रणनीतिक साझेदार रुस र चीनलाई नचिढ्याउन सन्तुलन कामय गर्न खोजिरहेका थिए ।

द्वन्द्व पुनः चर्किएपछि यमनी जनताले ठुलो क्षति व्यहोरिसकेका छन्, छोटो समयमै ८०० भन्दा बढीको मृत्यु भएको छ भने तीन हजार घाइते भएका छन् । एक लाख ५८ हजार मानिस विस्थापित भएका छन् । सन् २०१४–१५ मा गृहयुद्ध भड्किएदेखि र त्यसपछि साउदी नेतृत्वको सैन्य हस्तक्षेपका कारण चार लाखभन्दा बढी यमनी नागरिकले ज्यान गुमाइसकेको अवस्थामा अहिले पीडा थापिँदै छ । मर्नेहरू युद्धले मात्र नभई युद्धका कारण सिर्जित भोकमरी, रोगव्याधि तथा स्वास्थ्य सेवा र पूर्वाधारको अभावजस्ता अप्रत्यक्ष कारणले पनि मरेका छन् ।

कता जाँदै छ द्वन्द्व 
यमनमा द्वन्द्व जति चर्किंदै जान्छ, विश्व अर्थतन्त्रमा त्यति नै ठुलो असर पर्छ । कमै चर्चा हुने गरे पनि केही समयदेखि ‘स्ट्रेट अफ हर्मुज’मा चल्ने केही ट्यांकरले इरानको नयाँ ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’सँग गुपचुप सम्झौता गरेर वा अमेरिकी सैन्य एस्कर्टिङमार्फत जहाज खाडीबाट बाहिर निकालिएका छन् । अमेरिकी ऊर्जामन्त्री क्रिस राइटकै भनाइअनुसार हर्मुज जलमार्गबाट दैनिक एक करोड ३० लाखभन्दा बढी ब्यारेल कच्चा तेल बाहिरिरहेको छ ।

उता इरानले अझै पनि आफ्ना सबै माग पूरा नगरिएसम्म यो समुद्री मार्ग पूर्ण नखोल्ने अडान लिइरहेको छ । अक्टोबर ४ मा, इरानका सभामुख तथा कट्टरपन्थी संस्थापननजिकका नेता मानिने मोहम्मद बागेर घालिबाफले आफ्ना माग अमेरिकाले पूरा नगरेसम्म स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा नखोलिने बताए । इरानका मुख्य मागमा सबै मोर्चामा युद्धविराम गर्नुपर्ने, इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी हटाउनुपर्ने र पश्चिमी बैंकमा रहेका रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्नेजस्ता विषय समावेश छन् ।

एकातिर स्ट्रेट अफ हर्मुजको अवरोध पूरै नहटेको समयमा लाल सागर क्षेत्रमा अवरोध भएमा विश्वव्यापी तेल आपूर्तिमा थप अवरोध आउने अनुमान छ । जुलाईमा हुथी विद्रोहीले साउदी जहाजलाई आफ्नो तटनजिक प्रतिबन्ध लगाउनेदेखि साउदी बन्दरगाहतर्फको आवगमनमा समेत नाकाबन्दी घोषणा गरेर यसको प्रारम्भिक संकेत देखाइसकेको छ । त्यसपछि लाल सागर क्षेत्रमा विभिन्नपटक साउदीसम्बद्ध जहाजमाथि आक्रमण भइसक्यो ।

मध्यपूर्वको बढ्दो र बहुआयामिक संकटको जडमा इरानविरुद्ध अमेरिकाले रोजेको युद्ध नै देखिन्छ । यदि ट्रम्पले अझ घातक बल प्रयोग गरेर त्यो द्वन्द्वलाई चर्काए भने तेहरान जवाफी कारबाही गर्न तयार भएर बसेको छ । उसले खाडीका अमेरिकाका अरब सहयोगीमाथि पहिलेभन्दा गम्भीर आक्रमण हुने चेतावनी दिइसकेको छ । यस्तोमा समग्र अवस्था निकै विस्फोटक बनेको छ । जबसम्म वासिंटन र तेहरान विनाशको संघारबाट पछि हटेर सम्झौताका लागि वार्ताको टेबलमा फर्किंदैनन्, तबसम्म यो जोखिम कायमै रहनेछ । अहिले हेर्दा कठिन लागे पनि अमेरिका–इरानबिच सम्झौता अझै पनि सम्भव छ ।

द कन्भर्सेसनबाट

(द युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका सह–प्राध्यापक सैकल भिक्टोरिया युनिभर्सिटीका उपकुलपतिका रणनीतिक फेलो हुन्)

सुझावित समाचार