बर्दिया । कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले बर्दियामा जग्गाको बाटो मिचेर अस्पताल बनाउन लागेको पाइएको छ । स्वास्थ्य शाखा प्रमुख ठकुरीले गुलरिया नगरपालिका– ६ मा जग्गाको बाटो मिचेर अस्पताल बनाउन लागेको पाइएको हो।
सेनले कम्पनी रजिस्ट्रार कार्यालयमा डिभाइन केयर हस्पिटल प्रालि दर्ता गरी अस्पतालका लागि आवश्यक भवन निर्माण गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय पूर्वतर्फबाट जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखासम्म जाने दुई मिटरको बाटो छ। सो बाटो खासै चलनचल्तीमा छैन। तर, अस्पतालका सञ्चालक सेनले बाटो मिचेर पर्खाल लगाएका छन् ।
सेनले हस्पिटलका लागि प्रालिको नाममा गुलरिया नगरपालिका– ६ मा कित्ता नं. ३४६१, ३३३०, ३३२७, ३३३१ ३३२६ नम्बरको जग्गा खरिद गरेका थिए । सेनले किनेको जग्गासँग जोडिएर जिल्ला प्रशासन कार्यालयको पूर्वीबाट जिल्ला प्रहरी कार्यालयमा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका शाखासम्म जाने करिब दुई मिटरको बाटो नक्सामा छ । तर, नक्सामा बाटो भए पनि सो बाटो चलन चल्तीमा छैन ।
नक्सामा कायम रहेको बाटोको जग्गा मिचेर पर्खाल लगाइएको जानकारी पाएपछि तत्काल पर्खाल भत्काउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए । उनले भने, ‘अस्पतालका सञ्चालकलाई पर्खाल भत्काउन भनिएको छ । पर्खाल नभत्काए कानुनअनुसार प्रक्रिया अगाडि बढ्छ ।’
अस्पतालका सञ्चालक कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले अस्पताल निर्माण गर्दा सामान चोरी भएपछि अस्पतालको सुरक्षाका लागि गेट लगाएको बताए । उनले भने, ‘अस्पताल निर्माण गर्दा गेट लगाएको भएयता पनि बाटोको जग्गा मिच्ने कुनै मनसाय छैन । अस्पताल बनेपछि २४सै घण्टा अस्पताल खुला हुन्छ । जसले गर्दा बाटोमा कुनै किसिमको अवरोध हुँदैन । सो व्यवस्था मिलाएको छ ।’