मकवानपुर । गत १० भदौमा भोटेकोशीको विनाशकारी बाढीले वेत्रावतीमा पक्की पुल बगाएपछि टुटेको नुवाकोट र रसुवाबिचको सिधा सडक सम्पर्क पुनः जोडिएको छ। नेपाली सेनाले दुई जिल्लाको सीमामा पर्ने फलाकु खोलामा ४० टन भारवहन क्षमताको एक्रो ब्रिज सञ्चालनमा ल्याएको हो।
७३.२ मिटर लामो र ५.५ मिटर चौडा पुल सेनाले एक कार्यक्रमबिच गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। पुल सञ्चालनसँगै आसपासका नागरिकको आवतजावत तथा बाढी प्रभावित क्षेत्रमा राहत र अत्यावश्यक सामग्री ढुवानी सहज हुनेछ। भोटेकोशीमा आएको बाढीले वेत्रावतीको पुलसँगै पहुँच सडकमा समेत क्षति पुगेपछि उक्त स्थानबाट सवारी आवागमन अवरुद्ध भएको थियो। त्यसको विकल्पमा सेनाले मोडुलर एक्रो ब्रिज जडान गरेको हो।
पुल निर्माणका लागि आवश्यक सामग्री पुर्याउन सेनाले पहिले पहुँचमार्ग तयार गरेको थियो। करिब तीन सय मिटर कठिन सडकखण्डमा चट्टान फुटाएर बाटो बनाएपछि निर्माणस्थलमा पुलका सामग्री ढुवानी गरिएको हो। सेनाले असोज २० गतेदेखि पुल जडान थालेको थियो। दसैँअघि आवागमन सहज बनाउने लक्ष्यसहित प्राविधिक टोलीले दिनरात काम गरेर निर्माण सम्पन्न गरेको हो।
बाढीले सडक र पुल दुवैमा क्षति पुर्याएकाले पहुँचमार्ग निर्माण, सामग्री ढुवानी र पुल जडानको काम चरणबद्ध रूपमा अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि पुलको जिम्मेवारी सडक आयोजनालाई हस्तान्तरण गरिएको छ।
यसअघि पक्की पुल बगेपछि स्थानीयको पैदल आवतजावतका लागि वेत्रावतीमा बाँस र काठको अस्थायी संरचना बनाइएको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको समन्वयमा तयार गरिएको उक्त संरचनाबाट पैदल आउजाउ हुँदै आएको थियो। अहिले सवारीसाधन चल्न सक्ने पुल तयार भएपछि नागरिकको यात्रासँगै प्रभावित बस्तीमा आवश्यक सामान पुर्याउन सहज हुने भएको छ।