मकवानपुर/ जिल्ला प्रहरी कार्यालयले चाडपर्वका वेला यात्रुको सुरक्षा, सवारी चाप व्यवस्थापन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि जिल्लाभर ६३६ प्रहरी परिचालन गरेको छ। बडादसैँ, दीपावली, नेपाल संवत् र छठलाई लक्षित सुरक्षा योजनाअन्तर्गत पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्नुका साथै राजमार्ग तथा बजार क्षेत्रमा निगरानी बढाइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट स्थापना गरी टोली परिचालन गरिएको छ। धादिङ र सिन्धुलीतर्फ बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै राजमार्ग सुरक्षालाई प्राथमिकता दिइएको उनले बताए।
पाँच स्थानमा स्थापना गरिएका यात्रु सहायता कक्षमार्फत बढी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण तथा यातायात व्यवस्थापनमा सहजीकरण गरिने काफ्लेले जानकारी दिए। यात्राका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले भोग्न सक्ने समस्या समाधानमा पनि सहायता कक्षले सहयोग गर्ने उनको भनाइ छ।
राजमार्ग तथा मुख्य सडकखण्डमा आकस्मिक जाँच, नियमित चेकपोस्ट तथा ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ। लापर्बाहीपूर्वक सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने काफ्लेले बताए।
रातमाटे, भैँसे र मनहरीलगायत प्रमुख प्रवेश तथा निकासस्थलमा जाँचलाई प्राथमिकता दिइएको छ। सिन्धुली र काठमाडौं जोड्ने सडकखण्डमा पनि इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत नियमित निगरानीको व्यवस्था मिलाइएको छ।
१० मोबाइल गस्ती टोली, तत्काल सहायताका लागि द्रुत प्रतिकार्य टोली
सुरक्षा योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १० मोबाइल गस्ती टोली खटाइएको छ। तत्काल सहायता आवश्यक पर्ने स्थानमा छिटो पुग्न मोटरसाइकलसहितका द्रुत प्रतिकार्य टोली (क्युआरटी), पिकेट टोली तथा पैदल गस्तीसमेत परिचालन गरिएको छ।
सवारी दुर्घटना तथा अन्य आकस्मिक घटनामा उद्धार र सहायता उपलब्ध गराउन प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको काफ्लेले बताए। घटनास्थलमा परिचालित जनशक्ति अपुग भए थप जनशक्ति खटाउन दुई रिजर्भ टोलीको व्यवस्था गरिएको छ। सडक अवरोध तथा आकस्मिक घटना व्यवस्थापनका लागि स्ट्राइकिङ टोलीसमेत परिचालन गरिनेछ।
चाडपर्वका बेला बजार क्षेत्रमा हुने भिडभाडसँगै चोरी, लुटपाट तथा जुवातास नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ। बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार बढ्ने भएकाले सम्भावित चोरी तथा लुटपाट रोक्न निगरानी बढाइएको काफ्लेले जानकारी दिए।
कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमनको व्यवस्था मिलाइएको छ। धार्मिक तथा पर्यटकीयस्थल, सरकारी कार्यालय तथा प्रदेश राजधानीमा रहेका विशिष्ट व्यक्तिको सुरक्षाका लागि पनि प्रहरी खटाइएको उनले बताए।