रुट परमिटविना सवारीसाधन सञ्चालन गर्न बाध्य यातायात व्यवसायी

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

बर्दिया/ बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा रुट परमिट नहुँदा यातायात व्यवसायीहरू सार्वजनिक सवारीसाधन रुट परमिटविना सञ्चालन गर्न बाध्य भएका छन् । सरकारले यी क्षेत्रमा रुट परमिटको व्यवस्था नगर्दा यातायात व्यवसायीहरू सार्वजनिक सवारीसाधन रुट परमिटविना सञ्चालन गर्न बाध्य भएका हुन् ।

रुट परमिट नहुँदा एकातिर सरकारले प्राप्त गर्नुपर्ने राजस्व गुमिरहेको छ भने अर्कोतिर सवारी साधन  दुर्घटना हुँदा सवारीसाधन र यात्रुको बिमा रकम दाबी गर्न समस्या हुने गरेको छ । रुट परमिट लिएर सञ्चालन गर्नुपर्ने सार्वजनिक सवारीसाधन परमिटविना सवारीसाधन चलाउनुपर्दा व्यवसायी र यात्रु दुबैलाई जोखिम हुन्छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ मा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि रुट परमिटसम्बन्धी व्यवस्था गरिएको छ । रुट परिमिट लिनका सवारीधनीले ऐन र नियमावलीले व्यवस्था गरे अनुरूप कागजपत्र लिएर यातायात कार्यालय जानुपर्छ । तर सरकार आफैँले बनाएको ऐन र नियमावली अनुसार रुट परिमिट नदिँदा यातायात व्यवसायी मर्कामा परेका छन् ।

बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष रवि मल्लले रुट परमिटका नहुँदा यातायात व्यवसायीले समस्या भोग्नुपरेको समस्या बारेका यस अघिका मन्त्रीहरूलाई समेत जानकारी गराउँदा पनि समस्या समाधानका लागि कुनै काम नभएको बताए ।

 उनले भने, ‘ यातायात व्यवसायी रुट मरमिट लिएर सवारी साधन चलाउँछु भन्दा पनि सरकारले रुट परमिट दिँदैन । पहिला कोठियाघाट पुन नहुँदा राजापुर र गेरुवा सवारीसाधन चल्दैन थियो । त्यो बेला रुट मरमिटको आवश्यक पर्दैन थियो  । तर पुल बनेसँगै राजापुरका सडकको स्तर उन्नति भएर कालोपत्रे भएको छ । राजापुर र गेरुवाबाट लामा तथा छोटा दूरीका सवारीसाधन चल्छन् । तर यातायात व्यवसायीले अहिलेसम्म रुट मरमिट पाएका छैनन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले राजापुर र गेरुवा क्षेत्रमा सञ्चालन हुने सवारीसाधनको रुट परमिटसम्बन्धी समस्या समाधानका लागि पहल गर्ने बताए । उनले भने, ‘यातायात व्यवसायीले भोग्दै आएको समस्या समाधानका लागि आवश्यक कागजातसहित माथिल्लो निकायलाई जानकारी गराएर समाधान गर्न लाग्नेछु ।’

सुझावित समाचार