बाढी प्रभावित क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धारका लागि नेपाल सरकारले विशेष व्यवस्था गरेको छ। महिला, बालबालिका, लैंगिक तथा सामाजिक सुरक्षा मन्त्रालयले जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी जरुरी सूचना जारी गरेको छ।

मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको जीवनरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक परे हवाई उद्धारका लागि सम्पर्क गर्न आग्रह गरिएको छ।

बाढीका कारण सडक तथा यातायात अवरुद्ध भई स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भएका र ज्यान जोखिममा रहेका महिलालाई समयमै उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउने उद्देश्यले हटलाइन नम्बर सार्वजनिक गरिएको हो।

मन्त्रालयले उद्धार तथा आवश्यक सहयोगका लागि ९८५१२५५२५४ मा सम्पर्क गर्न अनुरोध गरेको छ। बाढी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरी महिला, उनीहरूका परिवार तथा स्थानीय बासिन्दालाई जोखिमको अवस्था भएमा ढिलाइ नगरी उक्त नम्बरमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। ‘गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको जीवन रक्षा हाम्रो प्राथमिकता हो,’ मन्त्रालयको सूचनामा उल्लेख छ।

सुझावित समाचार