शव बोकेको एम्बुलेन्स दुर्घटना हुँदा दुईजना घाइते

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका– ५, स्कुलडाँडास्थित मध्यपहाडी लोकमार्गमा शव बोकेको एम्बुलेन्स दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। आज राति करिब साढे १२:३० बजे विराटनगरबाट शव लिएर भोजपुरतर्फ जाँदै गरेको बा.प्र.०१–०२–००२ झ ६१९० नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खोल्सीमा खसेको थियो।

दुर्घटनामा एम्बुलेन्सचालक भोजपुरको रामप्रसाद राई गाउँपालिका– ८ का २१ वर्षीय शक्ति राई गम्भीर घाइते भएको भएको प्रहरीले बताएको छ। उनको शरीरका विभिन्न भागमा चोट लागेको र उनी अचेत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।

सोही एम्बुलेन्समा सवार रामप्रसाद राई गाउँपालिका– ७ का ४६ वर्षीय रामनन्द राईको कम्मरमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। दुर्घटनाको सूचनालगत्तै प्रहरी चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमान्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो। तर, धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले बताएको छ।

दुर्घटनाग्रस्त एम्बुलेन्स घटनास्थलमै रहेको छ। सो एम्बुलेन्स रामप्रसाद राई गाउँपालिकाद्वारा सञ्चालित हो ।

सुझावित समाचार