नाबालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

लहान । सात वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– ६ का एक व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार बलात्कार मुद्दामा सात वर्ष कैद सजाय भुक्तान गरी करिब एक महिनाअघि मात्र रिहा भएका स्थानीय करिब ४५ वर्षीय रूपनारायण यादवलाई पक्राउ गरिएको हो । गाउँनजिकैको खेतबाट बाख्रा चराएर फर्किँदै गरेकी नाबालिकालाई बोकेर झाडीतिर लैजाँदै गर्दा हजुरआमाले देखेपछि नाबालिका चिच्याउन थालेपछि यादवको औँलामा टोकेर उम्किएको स्थानीयले बताए । 

पीडित नाबालिकाको आफन्तले स्थानीय प्रहरीमा उजुरी गरेपछि बुधबार साँझ करिब साढे ७ बजेतिर नियन्त्रणमा लिइएका यादवलाई इलाका प्रहरी कार्यालय लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । ‘घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा गएको टोलीले आरोपीलाई लहान लिएर गएको छ,’ उनले भने, ‘थप अनुसन्धानपछि मात्र के गर्ने भन्ने यकिन हुन्छ ।’

पीडित नाबालिकाका आफन्तका अनुसार बुधबार बिहान करिब ९ बजेतिर आरोपी यादव घुम्दै घर आएका थिए । ‘सन्चाे–बिसन्चाे के छ भन्दै सोधेर फर्किएका थिए,’ आफन्तले भने, ‘के थाहा उनको मनभित्र अर्कै कुरा खेलिरहेको रहेछ भन्ने ।’

सुझावित समाचार