काठमाडौं/ त्रिभुवन विश्वविद्यालयको वार्षिक दिवस बैठकबाट ग्रेस लिस्ट र साधारण बैठकबाट आर्थिक वर्ष ०८३/८४ को नीति कार्यक्रम तथा बजेट पारित भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा त्रिभुवन स्मृति भवनको सभाकक्षमा बसेको सभाको छुट्टाछुट्टै बैठकले यी निर्णय गरेका हुन्।
बैठकले २०८३ साउन १ देखि असोज २१ सम्म भएको पुँजीगत खर्चको समर्थन तथा त्रिवि कार्यकारी परिषद्का सदस्यहरू र त्रिवि पुनरावेदन आयोगमा भएका नियुक्तिहरूको अनुमोदनसमेत गरेको छ।
त्रिवि सभाको ६७औं वार्षिक दिवस बैठकले ६४औँ ग्रेस लिस्टमा समावेश ०८२ असार १ देखि ०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिइसकेका कुल ९५ हजार ५४० विद्यार्थीको ग्रेस लिस्ट पारित गरेको छ।
सभाको साधारण बैठकले त्रिविको आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रमका साथै आव ०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेटसमेत पारित गरेको छ। प्रस्तावित बजेटको ४९.३८ प्रतिशत आन्तरिक स्रोत र बाँकी ५०.६२ प्रतिशत नेपाल सरकारसँग माग गर्ने उल्लेख गरिएको छ।