लहान । सिराहा प्रहरीले दक्षिणी सीमावर्ती क्षेत्रबाट ठुलो परिमाणमा ब्राउनसुगरजस्तो पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार साझ प्रहरी चौकी लडिगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सिराहा नगरपालिका– १४ बस्ने अन्दाजी वर्ष १९ का सतिस दास र वर्ष ३५ का आइसोत मण्डललाई पक्राउ गरिएको हो।
लडिगोठबाट माडरतर्फ जाँदै गरेको दासले चलाएको स.८प ६२९६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मण्डलले लगाएको ज्याकेटको गोजीबाट प्लास्टिकको पोकामा प्याक गरिएको ब्राउनसुगरजस्तो देखिने (गिलो) पदार्थ प्लास्टिकबाहेक १४३.७४ ग्राम बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
मोटरसाइकलमा रहेका दुईजनाको साथबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई थान स्क्रिनटच मोबाइलसमेत बरामद भएपछि जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।