दाङ । दाङको राजपुर गाउँपालिकाका दुईजनाविरुद्ध झुटाे विवरण पेस गरी नेपाली नागरिकता लिएको कसुरमा दाङ जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, घोराही, दाङको जाहेरी प्रतिवेदनका आधारमा राजपुर गाउँपालिका– ३, वसन्तपुर निवासी ४५ वर्षीया श्यामकुमारी यादव र उनका श्रीमान् ५० वर्षीय कृष्णबहादुर अहिरविरुद्ध ‘नागरिकतासम्बन्धी कसुर’मा मुद्दा दायर गरिएको हो।
उनीहरू दुवैजनालाई बुधबार दाङ जिल्ला अदालतका न्यायाधीश महेश खनालको इजलासले जनही २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
घटना के थियो ?
श्यामकुमारी यादवकी आमा बाबु अहिरनीका पहिलो श्रीमान् बुधराम अहिरको ०२७ साल असार १२ गते निधन भएको थियो। त्यसपछि उनकी आमाले राजपुर गाउँपालिका– ३, खदरिया निवासी बडेलाल अहिरसँग ०३३ सालतिर विवाह गरेकी थिइन्। त्यसपछि ०३८ साल भदौ २५ गते श्यामकुमारीको जन्म भएको थियो।
तर, नागरिकता लिने क्रममा श्यामकुमारी यादवले मृत्यु भइसकेका बुधराम अहिरलाई नै आफ्नो बुवा देखाएर झुटाे विवरणसहितका कागजात पेस गरेको अभियोगपत्रमा उल्लेख छ।
उनले ०६३ साल माघ २५ गते तत्कालीन बेला गाउँ विकास समिति कार्यालयबाट अनुसूची– १ को फाराम भराई सोही आधारमा ०६३ साल माघ २७ गते नागरिकता प्रमाणपत्र नं. ५२३००५/१०४२ प्राप्त गरेकी थिइन्। उक्त कार्यमा उनका श्रीमान् कृष्णबहादुर अहिरले सूचक बनेर सनाखत गरिदिएका थिए।
अभियोगपत्रमा प्रतिवादीहरू श्यामकुमारी यादव र कृष्णबहादुर अहिरलाई नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा (५) बमोजिम सजाय गर्न तथा सोही ऐनको दफा १२ बमोजिम झुटा विवरणका आधारमा जारी भएको नागरिकता प्रमाणपत्र रद्द गर्न मागदाबी गरिएको छ।
सरकारी वकिल कार्यालय, दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार नागरिकता सिफारिस तथा जारी गर्ने कार्यमा संलग्न तत्कालीन बेला गाउँ विकास समितिका पञ्जिकाधिकारी पदमप्रसाद चौधरीको मृत्यु भइसकेको छ भने नागरिकता टोली प्रमुख ऋषिराम रिमाल अनिवार्य अवकाशमा गइसकेका छन्। त्यसैले उनीहरूका हकमा कुनै दाबी लिइएको छैन।
नागरिकता बनाउने अभियान सञ्चालन भइरहेका वेला उनीहरूले झुटा विवरण पेस गरी नागरिकता बनाएको पाइएको सरकारी वकिल कार्यालयले जनाएको छ। सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीले उक्त अभियोगपत्र दाङ जिल्ला अदालतमा पेस गरेका हुन्।