महोत्तरी/ दसैँ, दीपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै महोत्तरीमा शान्तिसुरक्षा कायम राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका १३३१ सुरक्षाकर्मी परिचालन हुने भएका छन्।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकार सम्मेलन आयोजना गर्दै सो जानकारी दिएका हुन्। जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर पर्व शान्तिपूर्ण रूपमा मनाउन कार्ययोजनासहित सुरक्षाकर्मी खटाउने तयारी गरेको छ।
प्रजिअ यादवले हाल महोत्तरी शान्तिपूर्ण रहेको बताउँदै सीमा क्षेत्रनजिक रहेको कुरालाई समेत मध्यनजर गर्दै चोरीलगायतका आपराधिक घटना नियन्त्रणका लागि सुरक्षा विश्लेषणपछि सो निर्णय लिइएको जानकारी दिए।
उनले सीमाक्षेत्र तथा भित्री सहरी तथा ग्रामीण क्षेत्र र राजमार्गलगायतमा सुरक्षाको आवश्यकता पहिचान गरिएका स्थानहरूमा सुरक्षाकर्मी परिचालन हुने बताए।