विपतपछिको पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्रीको निर्देशन

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपतपछिको उद्धार र राहतसँगै अब पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका  छन् । 

बागमती प्रदेशको वार्षिक प्रगति समीक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री थापाले विपत् प्रभावित क्षेत्रमा आवश्यक स्रोत व्यवस्थापन गर्न गैरप्राथमिक कार्यक्रम तथा बजेट कटौती गरेर भए पनि रकम परिचालन गर्नुपर्ने बताए। 

विपतका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको उनले जानकारी दिए। बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने निर्णय संघीय सरकारले गरेको पनि उनले बताए।

यस्तै, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिँदै मुख्यमन्त्री थापाले सहकारीको सम्पत्ति लिलाम गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्न सरकार गम्भीर रहेको बताए।

चाडपर्वका वेला यातायात व्यवस्थापन, चोरी–डकैती नियन्त्रण तथा लामो दूरीका सवारीमा चालक पालो फेर्ने व्यवस्था प्रभावकारी बनाउन पनि उनले  निर्देशन दिए। लागुऔषध सेवन गरी सवारी चलाउने चालकको परीक्षण र कारबाहीलाई कडाइ गर्न आवश्यक जनशक्ति तथा परीक्षण किटको व्यवस्था गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए।

सुझावित समाचार