बागलुङ । निसीखोला गाउँपालिका– १ स्थित सल्लेरी सामुदायिक वनबाट प्रहरीले सात थान भरुवा बन्दुक बरामद गरेको छ।
बुधबार बिहान इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको कमान्डमा खटिएको प्रहरी गस्ती टोलीले सामुदायिक वनको वनमारा झाडीमा लुकाइछिपाई राखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएका बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत अवस्थामा रहेका छन्। सबै बन्दुक एकनाले भरुवा बन्दुक रहेको प्रहरीले जनाएको छ।
बरामद भएका बन्दुक कसले र के प्रयोजनका लागि लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।