बकैयामा अटो दुर्घटना हुँदा घाइते  भएका माझीको मृत्यु, दुईजना घाइते

बिहिबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका– ५ श्रीपुरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा दुईजना घाइते भएका छन्। 

मृत्यु हुनेमा बकैया– ५, भनौराका करिब ४५ वर्षीय सन्तबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो मदन भण्डारी लोकमार्गअन्तर्गत भनौराबाट जुरेलीतर्फ आउँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो दुर्घटना भएको हो । दुर्घटनामा माझीको टाउको, अनुहार र हातखुट्टामा चोट लागेको थियो । उनकी श्रीमती करिब ४० वर्षीया शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका– १ का आठ वर्षीय सन्देशकुमार मुक्तान पनि घाइते भएका छन् ।
 

तीनैजनालाई सुरुमा उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको थियो । सन्तबहादुर र शान्तिमायालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

भरतपुर लैजाँदै गर्दा बाटोमा सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई पुनः हेटौँडा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

हातखुट्टामा चोट लागेकी शान्तिमायाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनको र बालक सन्देशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

अटोचालक बकैया गाउँपालिका– ४ का ५१ वर्षीय रामकाजी माझीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार