काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ। घटनामा अन्य दुईजना घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बिचमै निष्क्रिय पारेको थियो। त्यसक्रममा खसेको भग्नावशेषले तेल क्षेत्रमा काम गर्ने ठेकेदारको एउटा सवारीसाधनमा आगलागी भएको थियो।
उक्त घटनामा नेपाली र फिलिपिनो नागरिकको मृत्यु भएको मन्त्रालयले जनाएको छ। घाइते हुनेमा पाकिस्तानी र भारतीय नागरिक रहेका छन्।
मन्त्रालयका अनुसार आगलागी प्रशोधन केन्द्रको बाहिरी क्षेत्रमा भएको थियो। घटनाका कारण तेल क्षेत्रको नियमित सञ्चालनमा भने कुनै असर परेको छैन। घटनापछि सम्बन्धित निकायले आवश्यक उद्धार तथा व्यवस्थापनका कार्य अघि बढाएका थिए।
मृत्यु भएका नेपाली नागरिकको नाम, ठेगाना तथा अन्य व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन। उनको पहिचान र परिवारसम्बन्धी थप विवरण आउन बाँकी छ।
साउदी अरब नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगारी गन्तव्यमध्ये एक हो। त्यहाँ भएको यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र जोखिमसम्बन्धी चिन्ता थप बढाएको छ।