काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बससेवाबाट दुई दिनमा एक हजार ४०६ जना यात्रु लाभान्वित भएका छन्। कात्तिक ३ र ४ गते सञ्चालन गरिएको उक्त सेवाबाट ६६९ पुरुष र ७३७ महिलाले यातायात सुविधा लिएका हुन्।
नेपाल प्रहरीको सार्वजनिक विवरणअनुसार कात्तिक ३ गते तीनवटा बसमार्फत एक सिफ्टमा सेवा प्रदान गरिएको थियो। उक्त दिन २३६ पुरुष र २७४ महिला गरी ५१० जनाले निःशुल्क बस सेवा उपयोग गरेका थिए।
त्यस्तै, कात्तिक ४ गते यात्रुको संख्या बढेर ८९६ पुगेको थियो। सो दिन ४३३ पुरुष र ४६३ महिलाले तीनवटा बसमार्फत दुई सिफ्टमा सञ्चालन गरिएको सेवाबाट लाभ लिएका थिए।
तथ्यांकअनुसार पहिलो दिनको तुलनामा दोस्रो दिन निःशुल्क बससेवा लिने यात्रुको संख्या ३८६ जनाले बढेको छ। दुई दिनको कुल यात्रुमध्ये महिलाको संख्या पुरुषको भन्दा ६८ जना बढी रहेको छ।
नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बससेवाले सर्वसाधारणको आवागमन सहज बनाउन तथा यातायात खर्चमा राहत प्रदान गर्न सहयोग पुर्याएको छ। यात्रुको सहभागितामा देखिएको वृद्धिले यस्तो सेवाप्रति सर्वसाधारणको आकर्षण बढेको संकेत गरेको छ।