काठमाडौं । काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलचालक, पैदल यात्रु र अटोमा सवार गरी पाँचजनाले ज्यान गुमाएका हुन्।
काठमाडौंको टेकुस्थित अम्बे कम्प्लेक्सनजिक कात्तिक २ गते साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भारतीय नागरिक परमानन्द बैढाईंको उपचारका क्रममा मृत्यु भएको छ। त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा.प्र. ०२–०६३ प १०९६ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका ४५ वर्षीय बैढाईंलाई ठक्कर दिएको थियो। भोटेबहाल बस्ने उनको कात्तिक ४ गते दिउँसो २:०६ बजे टिचिङ अस्पतालमा मृत्यु भएको हो।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका– ४, हलगडामा कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकलचालक छत्रबहादुर भण्डारीको मृत्यु भएको छ। कात्तिक ४ गते बिहान करिब ९:५० बजे तरहराबाट इटहरीतर्फ आउँदै गरेको क.२० प २०३६ नम्बरको मोटरसाइकललाई धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख १९८५ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलचालक ६२ वर्षीय भण्डारी र पछाडि सवार उनका १३ वर्षीय नाति प्रिन्स भण्डारी घाइते भएका थिए। दुवैलाई नोबेल अस्पताल विराटनगर लगिएकामा चालक भण्डारीको दिउँसो १२:४० बजे उपचारका क्रममा मृत्यु भएको हो। प्रिन्सको उपचार भइरहेको छ।
मकवानपुरको बकैया गाउँपालिका– ५, श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटोको ब्रेक फेल भएर दुर्घटना हुँदा सन्तबहादुर माझीको मृत्यु भएको छ। कात्तिक ४ गते दिउँसो करिब ३:१० बजे मनैराबाट सूर्योदयतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ङ ०१०५ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा अटोमा सवार सन्तबहादुर, उनकी श्रीमती शान्तिमाया माझी र आठ वर्षीय सन्देशकुमार मुक्तान घाइते भएका थिए। सन्तबहादुर र शान्तिमायालाई थप उपचारका लागि चितवन लैजाने क्रममा सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएपछि हेटौँडा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले दिउँसो ५:२० बजे उनलाई मृत घोषणा गरेका हुन्।
यस्तै, मोरङको लेटाङ नगरपालिका– ५, डिल्लेचोकमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बलबहादुर विकको मृत्यु भएको छ। कात्तिक ४ गते साँझ करिब ६:५० बजे लेटाङ बजारबाट डिल्लेचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ६३८० नम्बरको मोटरसाइकलले विकलाई ठक्कर दिएको थियो। घाइते विकलाई नगर अस्पताल लेटाङ पुर्याइएकामा साँझ ७:१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
त्यसैगरी, तनहुँको व्यास नगरपालिका– १ अम्रेनीस्थित पृथ्वी राजमार्गमा हाइलेक्स गाडीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। कात्तिक ४ गते साँझ करिब ७:४० बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा.१८ च ४५८८ नम्बरको हाइलेक्सले अन्दाजी ४० देखि ४२ वर्षका, नामथर र वतन नखुलेका पैदल यात्रुलाई ठक्कर दिएको थियो। घाइतेलाई प्रदेश अस्पताल दमौली लगिएकामा राति ८:५० बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीले पाँचवटै दुर्घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।