सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सभामुख डोलप्रसाद (डिपी)अर्यालको नेतृत्वमा अन्तर-व्यवस्थापिका संघ(आइपियू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबिच आज भेटवार्ता भएको छ।

त्यस अवसरमा उनीहरूबिच नेपाल-चीनबिच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचार-विमर्श भएको थियो।

भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबिच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको तथा नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारेका थिए । 

सभामुख अर्यालले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण गर्न चीनले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै दुई देशबिचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको सचिवालयले जनाएको छ ।

उनले हालै रसुवामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गरे । 

सभामुख अर्यालले विपद्का समयमा चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । चीन सरकारले सुरुङ उद्धार तथा फरेन्सिक र डिएनए विशेषज्ञ टोली तथा ड्रोनलगायतका उपकरण उपलब्ध गराएको थियो।

सभामुख अर्यालले दुई देशबिच स्थापित संसदीय मैत्रीसमूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबिच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको सचिवालयले जनाएको छ।

सुझावित समाचार