हिमाल–पहाडतिर फैलिँदै स्क्रब टाइफस

७४ जिल्लामा फैलियो, नौ हजार ८७२ मा संक्रमण, २२ को मृत्यु ‘रिपोर्ट’, तर पुष्टि हुन बाँकी

आइतबार, १८ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- कुनै समय भित्री मधेशका जिल्लामा बढी देखिने स्क्रब टाइफस देशैभर फैलिँदै गएको छ । सरकारी तथ्यांकअनुसार जनवरी २०२६ यता बिहीबार बिहानसम्म मात्र ९ हजार ८७२ मा स्क्रब टाइफसको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी), रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डेका अनुसार डोल्पा, मनाङ, मुगुबाहेक ७४ जिल्लामा संक्रमण देखिएको छ ।

यो अवधिमा २२ जनाको मृत्यु भएको रिपोर्ट इडिसिडीमा आए पनि पुष्टि हुन बाँकी रहेको पाण्डेले बताए । तर उनीहरूको स्क्रब टाइफसबाटै मृत्यु भएको हो भन्नेबारे थप पुष्टि गर्ने कार्य भइरहेको छ । वैशाखयता मात्र पाँच हजार ५७२ जनाा स्क्रब टाइफसको संक्रमण देखिएको छ । १५ भदौदेखि १७ असोजसम्म मात्रै दुई हजार ७३८ जनामा स्क्रब टाइफसको संक्रमण फैलिएको छ ।

स्क्रब टाइफसबाट बढी प्रभावित सल्यानको दार्मा पुगेका पाण्डेले भने, ‘खेतीपातीको समयमा किर्ना सक्रिय हुने र चिगासका लार्भा बढी हुने भएकाले स्क्रब टाइफसको संक्रमण फैलिने समय हो । सहजै स्वास्थ्य संस्थामा निःशुल्क उपचार पनि हुन्छ । तर, सल्यानमा मृत्युको रेकर्ड पनि बढी भएकाले कारण खोज्न हामी आएका छौँ ।’ दोस्रो विश्वयुद्धताका जापानबाट फैलिएको स्क्रब टाइफस नेपालमा सन् १९८१ मा देखापरेको थियो । सन् २०१५ को भूकम्पपछि नेपालमा यो रोगको संक्रमण बढ्दै गएको देखिन्छ । सुरुवाती वर्षमा यो रोग चितवन, नवलपरासीलगायत तराईका जिल्लामा बढी सक्रिय रहेकामा पछिल्ला वर्षमा पहाडी र हिमाली जिल्लामा फैलँदै गएको छ ।

इडिसिडीको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार स्क्रब टाइफस पाँच वर्षअघिदेखि नै पहाडी जिल्लामा पुगिसकेको थियो । सुरुमा भित्री मधेश र तराई क्षेत्रमा बढी देखिने गरेको यो रोग पछिल्ला वर्षमा पहाडी जिल्लामा समेत बढ्दै गएको उनले बताए । ‘यो तराईमा हुने भित्री मधेशमा बढी थियो, अझ चितवनबाट यो रोग देखिएको थियो, तर पछिल्ला वर्षहरूमा यसका बिरामी बढेका छन्,’ उनले भने, ‘अझ यसको जोखिम बढ्दो छ, तर यसको उपचारचाहिँ छ । समयमै उपचार गर्ने हो भने निको हुन्छ, यसको संक्रमणबाट मृत्युदर कम छ ।’

सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष ०८० मा नौ हजार ३३० जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो । ०८१ मा ११ हजार पाँच सय र ०८२ मा सात हजार तीन सयजनामा संक्रमण देखिएको थियो । चालू वर्षको सुरुवाती अवधिमै पाँच हजार पाँच सयभन्दा बढीमा संक्रमण देखिएकाले चैतसम्म संक्रमितको संख्या करिब ११ हजार पुग्न सक्ने प्रक्षेपण गरिएको छ । डा. दाहालका अनुसार स्क्रब टाइफस ब्याक्टेरियाका कारण लाग्ने रोग हो । यसको उपचारका लागि औषधि सहजै उपलब्ध भए पनि समयमै उपचारमा नजाँदा समस्या जटिल बन्ने गरेको उनले बताए ।

‘यो रोग ब्याक्टेरियाको कारणले लाग्ने हो, यो रोगको औषधि–उपचार सहजै पाइन्छ, कहिलेकाहीँ बिरामीले अस्पताल नजाने, जान ढिलो गर्ने गर्दा रोगको जटिलता फैलिन्छ,’ डा. दाहालले भने, ‘त्यो जटिलता नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो, नेपालमा यो रोग वर्षौँदेखि रहिआएको छ, मात्रै कुनै वर्ष कम र कुनै वर्ष धेरैमा संक्रमण देखिएको छ, तर यसपटक सल्यानमा एकैपटक किन यति धेरैमा संक्रमण देखियो र मृत्यु भयो भन्ने कुरा अध्ययन गर्न हामी सल्यान आएका छौँ ।’

लुम्बिनीमा संक्रमण बढ्दो
पछिल्लो एक महिनामा देशभर देखिएका दुई हजार ७३८ संक्रमितमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशका छन् । इडिसिडीका अनुसार लुम्बिनीमा एक महिनामा ७०७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

त्यसपछि सुदूरपश्चिम प्रदेशमा ६५४ जना संक्रमित भएका छन् । गण्डकी प्रदेशमा ३६०, कर्णालीमा ३५२, कोशीमा ३३६ र बागमती प्रदेशमा २५९ जनामा संक्रमण देखिएको छ । मधेश प्रदेशमा भने एक महिनामा ६६ जनामा संक्रमण देखिएको छ । प्रदेशगत तथ्यांकले स्क्रब टाइफस अहिले भित्री मधेशमा मात्रै सीमित नरहेको देखाएको छ । पहाडी तथा हिमाली जिल्लासम्म संक्रमण विस्तार हुँदै गएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले भित्री मधेशमा बढी देखिने स्क्रब टाइफस अहिले अधिकांश जिल्लामा देखिन थालेकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए । ‘स्क्रब टाइफस मात्रै होइन, केही क्षेत्रमा मात्रै सीमित रहेको सक्रामक रोग देशैभरि फैलँदो छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण तराईका अधिकांश रोगहरू पहाड र हिमालसम्म पुगेको देखिन्छ ।’ उनका अनुसार रोग सार्ने जीव तथा किराको वासस्थान र फैलावटको क्षेत्र परिवर्तन हुँदा पहिले निश्चित भूगोलमा सीमित रहेका रोग नयाँ क्षेत्रमा देखिन थालेका छन् । 

कृषि तथा पशुपालनमा निर्भर बढी जोखिममा
स्क्रब टाइफस घाँसपात, दाउरा तथा कृषि काम गर्ने क्रममा किर्नोको टोकाइबाट सर्ने गर्छ । विशेष गरी गाउँघर, झाडी तथा बढी हरियाली भएका क्षेत्रमा यसको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । किर्नाको टोकाइबाट बच्न शरीर पूरै ढाक्ने कपडा, पन्जा र घुँडासम्म छोपिने जुत्ता लगाउन चिकित्सकहरूले आग्रह गरेका छन् । झाडी तथा बुट्यान भएको क्षेत्रमा यस्तो प्रकारको किर्ना बढी पाइने भएकाले घरवरिपरिका झाडी तथा बुट्यान सफा राख्नसमेत सुझाइएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार खेतबारीमा काम गर्दा, घाँस काट्दा, दाउरा संकलन गर्दा वा झाडी तथा बुट्यान भएको क्षेत्रमा जाँदा किर्नाको टोकाइबाट विशेष सावधानी अपनाउन आवश्यक हुन्छ । शरीर ढाक्ने कपडा लगाउने र सम्भव भएसम्म झाडी तथा बुट्यानबाट जोगिनुले संक्रमणको जोखिम घटाउन सकिन्छ ।

सुझावित समाचार