- सप्तरीमा करिब पाँच सय घर डुबानमा, बाढीबाट सुस्तामा तीन सय, गैँडाकोटमा १४० विस्थापित, गुल्मीमा साढे दुई सयलाई सुरक्षित स्थानमा सारियो
तीन दिनदेखिको अविरल वर्षापछि सप्तकोशी र नारायणी नदीमा आएको बाढीले तटीय क्षेत्रमा रहेका बस्ती डुबानमा परेका छन् । सप्तरीमा पाँच सय घर डुबानमा परेका छन् । नवलपरासी पश्चिमको सुस्तास्थित थारू बस्तीमा बाढी पसेको छ । प्रहरीले प्रभावितलाई सुरक्षित स्थानमा सारेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका हुन् । शुक्रबार कोशीनदीमा आएको बाढीले घर तथा बस्तीमा ठुलो क्षति पुर्याएको हनुमाननगर कंकालिनी नगरपालिका–६ की कुमारी सदाले बताइन् । ‘घरनजिकैको बारीबाट पसेको बाढीले राति नै घरभित्रै चार फिटसम्म पानी जम्दा परिवार विचल्लीमा परेको छ । ज्यान जोगाउन साना बालबच्चा च्यापेर राति नै कोशीको बाँधको सडकमा आइपुग्यौँ । त्रिपाल टाँगेर दिन बिताइरहेकी छु ।’
हनुमाननगर कंकालिनी–७ का सिबू सदाको परिवार अहिले कोशीनदीको बाँध किनारमा त्रिपाल टाँगेर खुला आकाशमुनि दिन बिताउन बाध्य छ । शुक्रबार राति अचानक आएको कोशीको बाढी घरमा पस्दा घरभित्रका खाद्यान्नलगायत सम्पूर्ण सामग्री जोगाउन नसकिएको उनले बताए । ‘प्रत्येक वर्ष यस्तै समस्या छ, हामी कहाँ जाऔँ, एक धुर जग्गा छैन, सुकुमवासी छौँ । प्रत्येक वर्ष बाढी आउँछ र घरमा पस्छ,’ उनले भने, ‘बाढीको पानी घटेपछि फेरि त्यहीँ गएर आफ्नो जिन्दगी काट्ने हो ।’
कोशी पश्चिमी तटबन्धभित्रका बस्तीमा शुक्रबार साँझदेखि पसेको बाढीले चार सयभन्दा बढी घर डुबानमा परेको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले जानकारी दिए । कोशीमा शुक्रबारदेखि पानीको बहाव तीव्र रूपमा बढिरहेको छ । नगरपालिका वडा नम्बर ५, ७, १२ र १३ का गरी चार सय घर डुबानमा परेको उनले बताए । ‘बस्तीमा चारदेखि पाँच फिटसम्म पानी जमेका कारण घरमा बस्न सक्ने अवस्था छैन,’ उनले भने ।
तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशीनदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये चारजना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विपत् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार घरमा पानी पसेपछि सुत्केरी महिलासहित प्रभावित परिवारलाई सुरक्षित स्थानका राखिएको छ ।
नवलपरासी पश्चिममा साढे तीन सयजनालाई होल्डिङ सेन्टरमा राखियो
नारायणी नदीमा आएको बाढीका कारण नवलपुर र पश्चिम नवलपरासीका नारायणी नदीकिनारआसपासका बस्ती डुबानमा परेका छन् । प्रहरीका अनुसार नवलपुरको गैँडाकोट नगरपालिकाको बोटेटोल, कावासोती– १७ अमलटारी र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको सुस्ता डुबानमा परेका छन् । यो क्षेत्र शनिबार बिहानैदेखि डुबानमा परेको हो । नारायणी नदीमा पानीको सतह खतराको तहमा पुगेसँगै डुबान सुरु भएको थियो । नारायणी नदीको बाढीले नवलपुरका गैँडाकोट नगरपालिका– २ बोटे टोलका १८ घरका १४० जना विस्थापित भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार डुबानमा परी विस्थापित भएका १४० जनालाई सुरक्षाकर्मीको टोलीले उद्धार गरी सुरक्षित स्थानान्तरण गरिएको छ । नदीको बाढी बस्ती पस्ने जोखिम बढेपछि स्थानीयलाई सुरक्षाकर्मीले महत्वपूर्ण सामग्रीसहित सुरक्षित स्थानमा सारेका छन् । त्यसैगरी, नवलपुरको कावासोती– १७ अमलटारी पनि डुबानमा परेको छ । नारायणी नदीकिनारमा रहेका केही होटेल र घर डुबानमा परेपछि प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारेको हो । नवलपरासी पश्चिमको सुस्तामा डुवान तथा जोखिममा रहेका करिब साढे तीन सयजनालाई विपत् व्यवस्थापन भवनको आवास भवनमा सुरक्षित स्थानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको थारू टोलामा रहेका सबै बासिन्दा, पशु–चौपाया, लत्ताकपडा, खाद्यान्नसहित स्थानान्तरण गरिएको हो । बस्तीमा रहेका करिब चार सयजनामध्ये केही आफन्तको घर गएका र बाँकी तीन सयजनालाई विपत् व्यवस्थापन समितिको आवास हलमा राखिएको छ ।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार विस्थापित भएर सुरक्षित स्थानमा स्थानान्तरण गरिएकालाई नारायणी नदीपारि राहत पुर्याउन कठिन भएको छ । ‘सुस्तामा पुग्ने एक मात्र झोलुंगे पुल बाढीले मानिस पैदल हिँड्नबाहेक मिल्ने अवस्था नभएकाले राहत पुर्याउन सकिएन । उनीहरूलाई वारि ल्याउन खोजेको मानेनन्,’ उनले भने । उपाध्यायका अनुसार केही महिनाअघि भारतीय पक्षले बाँध लगाउन रोक लगाएको क्षेत्रबाट नारायणी नदीको बाढी सुस्ता पसेको हो । सुस्ताको केही अग्लो भागमा बनाइएको विपत् व्यवस्थापनको भवनमा विस्थापितलाई राखिएको छ ।
नारायणी नदीको चितवनमा रहेको देवघाट जलमापन केन्द्र र नवलपुरको त्रिवेणीमा रहेको गण्डक ब्यारेजको जलमापन केन्द्र दुवै स्थानमा नारायणी नदीमा पानीको सतह खतरा तह पुगेको देखाएको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नारायणी नदीमा अझै पानीको सतह बढेर जाने देखिएको छ । नारायणी नदीमा पूर्वमा काठमाडौं, धादिङ, गोरखा, चितवनलगायत क्षेत्रमा परेको पानी त्रिशूली नदी हुँदै र पश्चिममा पर्वत, स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुरको कालीगण्डकी नदी हुँदै आएको पानी मिसिने गर्छ । त्यसका अलावा मनाङ, मुस्ताङ, रसुवा, कास्कीलगायत क्षेत्रको पानी पनि नारायणी नदीमै मिसिने गर्छ । नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीमा रहेको मोटरेबल पुलको पहुँचमार्ग बाढीले बगाएको छ ।
पहिरोले सल्यान प्रवेश गर्ने तीन मुख्य सडक अवरुद्ध
लगातारको वर्षापछि गएको पहिरोका कारण सल्यान प्रवेश गर्ने तीनवटा मुख्य सडक अवरुद्ध भएका छन् । राप्ती राजमार्ग, लुहाम–कालिमाटी सडक र खलंगा–बालुवा–सुर्खेत सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार राप्ती राजमार्गअन्तर्गत श्रीनगर–कपुरकोट सडकखण्डको कपुरकोट गाउँपालिका–५ स्थित खारखोला, सल्यान–सुर्खेत सडकखण्डअन्तर्गत बनगाड कुपिन्डे नगरपालिका–८ स्थित र्याले तथा लुहाम–कालिमाटी सडकखण्डअन्तर्गत त्रिवेणी गाउँपालिका–३ स्थित ढुंगेबगरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ ।
गुल्मीको चन्द्रकोटमा पहिरोले बस्ती नै जोखिममा
गुल्मीको चन्द्रकोटमा पहिरोका कारण बस्ती जोखिम भएपछि करिब ४० घरका २५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीका अनुसार चन्द्रकोट–३ भुल्केस्थित बार्जिंग सल्यार सामुदायिक वन माथिबाट पहिरोका कारण सल्लाको रुखहरू बगेकाले ४०–४५ घर बस्ती जोखिममा परेपछि २५० जनालाई सुरक्षित स्थानमा सारिएको हो । उनीहरूलाई उदय माविको छात्रावास तथा आफन्तकोमा बस्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुंगेबाट ३० घरधुरीका बासिन्दालाई बहुउद्देश्यीय सामुदायिक भवनमा राखिएको जिप्रका अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिवश जिसीले बताए । तिनाउ नदीमा जलसतह बढेपछि तटीय क्षेत्रका ३९ जनालाई शुक्रबार नै सुरक्षित स्थानमा सारिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले आठ परिवारका ३९ जनालाई कान्ति माध्यमिक विद्यालयमा सारिएको बताए । बुटवलमा तिनाउ पुलमुनिको बस्तीसहित तिनाउ तटीय क्षेत्रका विभिन्न स्थानका बस्ती जोखिमपूर्ण छन् ।
सिराहामा हावाहुरीसहितको वर्षाले उखुखेतीमा क्षति
पछिल्लो दुई दिन परेको वर्षा र हावाहुरीले सिराहामा उखुखेतीमा क्षति पुगेको छ । सिरहाको नरहा गाउँपालिका–१ देवीपुर तिलासी गाउँका किसान रामखेलाउन यादवले आफूले लगाएको एक बिघा एक कठ्ठा उखु वर्षा र हावाहुरीले ढलेर क्षति भएको बताए । मलखाद, बिउ, खनजोत र मजदुर गरी उखुखेती गर्न प्रतिकठ्ठा करिब आठ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘उखु हुर्किसकेका वेला ढलेपछि आर्थिक रूपमा मर्का परेको छ ।’
गोलबजार नगरपालिका–५ की शकुन्तला यादवको अवस्था पनि उस्तै छ । भाडामा लिएको चार बिघा जग्गामा एक दशकभन्दा बढी समयदेखि खेतीपाती गर्दै आएकी उनले यसपल्ट डेढ बिघामा उखुखेती गरेको सुनाइन् । ‘हावाहुरीसँगै परेको वर्षाले उखु खेतमै ढलेको छ,’ उनले भनिन्, ‘अब उखुको लगानीसमेत उठाउन गाह्रो भएकाले ठुलो आर्थिक संकटको जोखिम छ ।’
खेतीपातीका लागि भाडामा लिइएको जग्गाको वार्षिक एक लाख रुपैयाँ भाडा तिर्दै आएको सुनाउँदै उनले भनिन्, ‘जग्गाको भाडासँगै मल, बिउ, सिँचाइ र मजदुरीमा ठुलो रकम खर्च भयो, तर ढलेको उखुले लगानी पनि उठ्दैन ।’ आफ्नै बलबुतामा खेती गर्नुपर्ने बाध्यता रहेका किसानको खेतीपातीमा लागत मूल्य बढे पनि प्रकोपले लागतसमेत उठाउन नसक्दा आर्थिक समस्या पर्ने भएकाले स्थानीय सरकारले हेर्नुपर्ने उनले माग गरिन् ।
नरहा–१ तिलासीकी बबिताकुमारी यादवले पनि यसपल्ट रोपेको १५ कठ्ठासहित डेढ बिघा उखु ढलेर क्षति भएको सुनाइन् । डेढ बिघा जग्गामा रोपेको उखुको लगानी नै दुई लाख ४० हजार रुपैयाँ भएको उनको भनाइ छ । ‘करिब चार महिनापछि काट्न तयार हुने उखु ढलेपछि तौल नै नहुने भएकाले लगानी डुब्ने निश्चित छ,’ उनले भनिन् । वर्षा र हावाहुरीका कारण आफूले गरेको १७ कठ्ठा उखुखेतीमा क्षति पुगेको तिलासी गाउँका रामबुझाउन यादवले बताए । मौसमको साथ र वेलामा मलखाद तथा सिँचाइ हुँदा प्रतिकठ्ठा ३० क्विन्टलसम्म उत्पादन हुने उखु ढलेपछि आधा जति घट्ने हुँदा लगानी उठाउनसमेत समस्या हुने उनले बताए । जिल्लाका विभिन्न ठाउँमा गरी तीन हजार पाँच सय ७५ हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । ज्ञान केन्द्रका अनुसार उक्त क्षेत्रफलमा हरेक वर्ष करिब दुई लाख मेट्रिक टन उखु उत्पादन हुँदै आएको छ ।
राजविराजमा सौरभ यादव, लहानमा मणिलाल विश्वकर्मा,नवलपरासीमा रामकुमार श्रेष्ठ, सल्यानमा दीपक शर्मा, रुपन्देहीमा विष्णु घिमिरे