कांग्रेसको १५औँ महाधिवेशनको नारा र लोगो सार्वजनिक

लोगोमा बिपीदेखि देउवासम्मको तस्बिर

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

कांग्रेसको १५औँ महाधिवेशनको नारा र लोगो सार्वजनिक भएको छ । ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा दिइएको छ । लोगोमा संस्थापक बिपी कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्म्को तस्बिर राखिएको छ ।

बिपी, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ । पार्टीको झन्डा, चुनाव चिह्न र राष्ट्रिय झन्डाको चन्द्र र सूर्य पनि लोगोमा समावेश गरिएको छ । 

गत ७ असोजमा सबै पालिकामा एकसाथ गर्ने भनिएको अधिवेशन शुक्रबारसम्म लम्ब्याइएको छ । आगामी १० असोजमा एकैदिन गर्ने भनिएको क्षेत्रीय अधिवेशन १३ असोजसम्म गरिसक्न समय दिइएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मौसमका कारण अवस्था हेरेर पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।

हालसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको छ । पालिका अधिवेशन र क्षेत्रीय अधिवेशन मौसमका कारण प्रभावित भएका छन् । पालिका अधिवेशन लम्बिएको छ भने क्षेत्रीय अधिवेशनको समय पनि थपिएको छ । कांग्रेसको १५औँ महाधिवेशन १६–१९ असोजमा काठमाडौंमा हुँदै छ ।

सुझावित समाचार