कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला र पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरूको जिम्मेवारी खोस्न थालेको छ ।
हालसम्म तीनवटा जिल्लाका सभापति, एक उपमहानगर र दुई नगरका सभापतिको जिम्मेवारी खोसिएको छ । कांग्रेस केन्द्रले सुदूरपश्चिममा कैलाली, कञ्चनपुर र डोटीमा पार्टी महाधिवेशनको काम गर्ने गरी कार्यवाहक जिल्ला सभापति तोकेको छ । यी तीनै जिल्लाका सभापति देउवानिकट हुन् । कैलालीमा उपसभापति भीमबहादुर बडुवाललाई मंगलबार कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
नेताहरूका अनुसार जिल्ला सभापति नारायणदत्त भट्ट र उपसभापति खेम चौधरी पार्टीको महाधिवेशन प्रक्रियामा सहभागी नभएपछि कांग्रेस केन्द्रले बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । भट्टले यसअघि उपसभापति चौधरीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पठाएको पत्रमा पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्लामातहतका अधिवेशन सम्पन्न गर्न उपसभापति बडुवाललाई कार्यवाहक सभापतिका रूपमा कामकाज गर्ने गरी विशेष जिम्मेवारी तोकिएको जनाइएको छ ।