लम्बियो कांग्रेसको पालिका अधिवेशन

बुधबार ५६ जिल्लाका ५१२ पालिकामा मात्रै अधिवेशन, बाँकी २४१ पालिकामा आज र भोलि

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्वकार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्म लम्बिएको छ । बुधबार ५६ जिल्लाका ५१२ पालिकामा अधिवेशन सुरु भएको छ भने बाँकी २४१ पालिकामा बिहीबार र शुक्रबार अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

केही पालिकामा निर्विरोध कार्यसमिति चयन भएको छ भने अधिकांशमा निर्वाचन प्रक्रिया अघि बढेको छ । वडा अधिवेशनमा जस्तो सर्वसम्मत नेतृत्व चयनको अवस्था पालिकामा नरहेकाले प्रक्रिया पूरा गर्न थप समय लाग्ने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । ‘पालिका अधिवेशनअन्तर्गत ५६ जिल्लाका ५१२ पालिकामा उद्घाटन सत्रसहित बन्द सत्र सुरु भई निर्वाचन भएको जानकारी प्राप्त भएको छ । अन्य बाँकी रहेका २४१ पालिकामा असोज ८ र ९ गते पनि अधिवेशन जारी रहनेछ,’ कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले भने ।

अधिकांश पालिकामा निर्वाचन प्रक्रिया अघि बढेको उनले बताए । सहमतिमा कार्यसमिति चयन गर्ने क्रममा पनि क्लस्टरअनुसार प्रतिनिधित्व मिलाउनुपर्ने भएकाले समय लागेको उनको भनाइ छ । कांग्रेसले तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढाउने नीति लिएको छ । ३५ वर्षमुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्थाका कारण पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ्ने कांग्रेसको अपेक्षा छ ।

पालिका अधिवेशनबाट सभापतिसहित पाँच पदाधिकारी र विभिन्न समूहबाट सदस्य निर्वाचित हुँदै छन् । सभापति, १ महिलासहित २ उपसभापति, १ सचिव र १ सहसचिव गरी ५ पदाधिकारी निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा कार्यसमिति सदस्यबाट चयन हुने व्यवस्था छ ।

पालिका अधिवेशनबाट सदस्यमा एक महिला र दुई खुला ३५ वर्षमुनिका युवा आउनुपर्ने व्यवस्था विधानमा छ । त्यस्तै, प्रत्येक वडाबाट एक महिला र एक खुला तथा दलितबाट एक महिला र एक खुला सदस्य पनि निर्वाचित हुनेछन् । पालिका कार्यसमितिमा गाउँपालिकामा सात, नगरपालिकामा नौ, उपमहानगरपालिकामा ११ र महानगरपालिकामा १३ सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

पालिका सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पनि कांग्रेसले गरेको छ । यसअनुसार पालिका अधिवेशनबाट निर्वाचित सभापति स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन् ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा केही दिनपछि अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । पालिका अधिवेशनपछि १० असोजमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछन् । क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । केन्द्रीय नेतृत्वका लागि उम्मेदवार बन्न पनि महाधिवेशन प्रतिनिधि हुनुपर्नेछ ।

भारी वर्षाको पूर्वानुमानले अधिवेशन प्रभावित हुन सक्ने
बिहीबार र शुक्रबार भारी वर्षा हुने पूर्वानुमान रहेकाले सम्बन्धित निर्वाचन अधिकृतहरूले आफूमातहतका पालिका, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन गर्दा मौसमलाई ध्यानमा राखी सचेत हुन र अनुकूल समय मिलाउन निर्वाचन समितिले निर्देशन दिएको छ ।

सुझावित समाचार