न्युयोर्कमा प्रधानमन्त्री कहाँ–कहाँ जाँदै छन् ?

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकहरूमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्क पुगेलगत्तै उनी संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन् ।

त्यहाँ उनलाई परराष्ट्रसचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत आरण र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूत दधिराम भण्डारीले ब्रिफिङ गर्नेछन् । प्रधानमन्त्री शाह उनको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधि थापाले आयोजना गर्ने समारोहमा सरिक हुनेछन् ।

स्थानीय समयअनुसार ८ असोजमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यही राति (नेपाली समयअनुसार ९ असोज बिहान) प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

त्यसलगत्तै उनी नेपालतर्फ प्रस्थान गर्नेछन् । उनी १० असोजमा नेपाल आइपुग्नेछन् । सम्बोधनमा प्रधानमन्त्री शाहले १० भदौमा नेपाल–चीन सीमाक्षेत्रस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले नेपालीहरूलाई पारेको असर मात्र नभएर यो क्षेत्रलाई नै दिने चेतावनीबारे धारणा राख्नेछन् ।

प्रधानमन्त्री शाहले नेपालजस्तो पीडित मुलुकका लागि जलवायु न्यायको आवाज उठाउनेछन् । विगतमा भएका सम्झौताहरूको कार्यान्वयनमा प्रधानमन्त्री शाहले जोड दिने गरी भाषण तयार भएको परराष्ट्र अधिकारीहरू बताउँछन् । 

सुझावित समाचार