उदयपुरमा पाँच वर्षमा उद्योग दर्ता ६३ प्रतिशत घट्यो, रोजगारी ८७ प्रतिशत खुम्चियो

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

उदयपुरमा नयाँ उद्योग स्थापना हुने क्रम पछिल्लो पाँच वर्षमा झन्डै दुईतिहाइले घटेको छ। घरेलु तथा साना उद्योग कार्यालय, गाईघाटको वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ मा ४५८ वटा नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष ०८२/८३ मा १६६ वटामा झरेको हो। यस अवधिमा नयाँ उद्योग दर्ता ६३.८ प्रतिशतले घटेको देखिन्छ।

कार्यालयको प्रगति प्रतिवेदनअनुसार २०७८/७९ मा ४५८ वटा नयाँ उद्योग दर्ता भएका थिए। त्यसपछि ०७९/८० मा २९४, ०८०/८१ मा २४७, ०८१/८२ मा १८४ र ०८२/८३ मा १६६ वटा नयाँ उद्योग दर्ता भएका छन्। पछिल्ला पाँच वर्षमा हरेक वर्ष नयाँ उद्योग दर्ता घटेको देखिन्छ।

उद्योग दर्तासँगै नयाँ उद्यमी थपिने क्रम पनि तीव्र रूपमा घटेको घरेलु तथा साना उद्योग कार्यालय, गाईघाटका प्रमुख पूर्णबहादुर थापाले बताए।

उनका अनुसार ०७८/७९ मा एक हजार ६६३ जना नयाँ उद्यमी थपिएका थिए। ०७९/८० मा ३२०, ०८०/८१ मा २७०, ०८१/८२ मा १९३ र ०८२/८३ मा १७४ जना मात्रै नयाँ उद्यमी थपिएका छन्। पाँच वर्षमा नयाँ उद्यमी थपिने संख्या ८९.५ प्रतिशतले घटेको छ।

नयाँ उद्योगबाट सिर्जना हुने रोजगारी पनि घट्यो
नयाँ उद्योगबाट सिर्जना हुने रोजगारीमा पनि ठुलो गिरावट आएको छ। ०७८/७९ मा चार हजार ७९४ जनाले नयाँ उद्योगमार्फत रोजगारी पाएका थिए। तर, ०७९/८० मा एक हजार २७, ०८०/८१ मा एक हजार २४०, ०८१/८२ मा ७२२ र ०८२/८३ मा ५९५ जनामा सीमित भएको छ। यसरी पाँच वर्षमा नयाँ उद्योगबाट सिर्जना हुने रोजगारी ८७.६ प्रतिशतले घटेको तथ्यांकले देखाएको थापाले बताए।

सेवामूलक उद्योगमा बढी आकर्षण
गत आर्थिक वर्ष ०८२/८३ को तथ्यांक हेर्दा दर्ता भएका १६६ उद्योगमध्ये सेवामूलक उद्योग सबैभन्दा धेरै छन्। सेवामूलक ६६, कृषि तथा वनजन्य ५७, पर्यटन २३ र उत्पादनमूलक २० उद्योग दर्ता भएका छन्।

कुल दर्ताको ३९.८ प्रतिशत सेवामूलक, ३४.३ प्रतिशत कृषि तथा वनजन्य, १३.९ प्रतिशत पर्यटन र १२ प्रतिशत उत्पादनमूलक उद्योग छन्। ऊर्जामूलक, निर्माणजन्य, खनिजजन्य तथा सूचना प्रविधितर्फ भने कुनै उद्योग दर्ता भएको छैन।

दर्ता भएका १६६ उद्योगमध्ये १५० निजी फर्म, सात साझेदारी फर्म र नौ कम्पनी छन्। कृषि तथा वनजन्यतर्फ मात्रै ५२ निजी, चार साझेदारी र एक कम्पनी गरी ५७ उद्योग दर्ता भएका छन्।

उद्योग घटे पनि राजस्वमा उतारचढाव
थापाका अनुसार नयाँ उद्योग दर्ता निरन्तर घटे पनि कार्यालयको राजस्व भने सोही अनुपातमा घटेको छैन। ०७८/७९ मा ५१ लाख दुई हजार ११३ रुपैयाँ राजस्व संकलन भएकोमा ०७९/८० मा ३९ लाख ४९ हजार ५५० रुपैयाँमा झरेको थियो।

त्यसपछि राजस्व बढेर ०८०/८१ मा ५८ लाख ७३ हजार, ०८१/८२ मा ६४ लाख २२ हजार ३५१ रुपैयाँ पुगेको थियो। तर, ०८२/८३ मा पुनः घटेर ५० लाख दुई हजार रुपैयाँमा सीमित भएको छ।

गत आर्थिक वर्षको राजस्वमध्ये व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट मात्रै ४६ लाख २० हजार ९५० रुपैयाँ संकलन भएको छ। प्रशासनिक सेवा शुल्कबाट एक लाख ६९ हजार ६ सय, प्रदूषण नियन्त्रण शुल्कबाट ८० हजार, अन्य बिक्रीबाट ७० हजार २४० र गत वर्षको बेरुजुबाट ५९ हजार २३० रुपैयाँ प्राप्त भएको कार्यालयले जनाएको छ।

कुल उद्योग संख्या भने बढ्यो
नयाँ उद्योग दर्ता घटे पनि जिल्लामा दर्ता भएका उद्योगको कुल संख्या भने बढेको छ। ०७८/७९ सम्म तीन हजार ८०१ उद्योग दर्ता भएकोमा ०८२/८३ सम्म कुल संख्या पाँच हजार ८१० पुगेको छ।

तर, कुल उद्योग संख्या बढिरहे पनि नयाँ उद्योग, उद्यमी र रोजगारी सिर्जनाको वार्षिक गति लगातार खुम्चिएको छ। कार्यालय प्रमुख थापाले विशेषगरी उत्पादन, निर्माण, खनिज र सूचना प्रविधितर्फ नयाँ उद्योग दर्ता शून्य हुनु जिल्लाको औद्योगिक गतिविधिको कमजोर पक्षका रूपमा देखिएको बताए।

‘स्थानीय कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सके मात्रै जिल्लामा औद्योगिक गतिविधि र रोजगारी विस्तारको गति बढाउन सकिन्छ,’ उनले भने।

See More On

सुझावित समाचार