हिमाली जिल्ला ताप्लेजुङमा नेपाली कांग्रेसले ६१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। आइतबार र सोमबार सम्पन्न वडा अधिवेशनबाट सबै वडामा वडा कार्यसमिति सर्वसम्मत चयन गरिएको जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताए ।
जिल्ला सभापति तुम्याहाङले अधिकांश वडाको अधिवेशन आइतबार नै सम्पन्न भएको बताए । बाँकी वडाको अधिवेशन सोमबार सम्पन्न गरिएको हो। केही वडामा नेतृत्वका लागि एकभन्दा बढी आकांक्षी देखिए पनि आपसी छलफल र सहमतिबाट सर्वसम्मत नेतृत्व चयन गरिएको तुम्याहाङको भनाइ छ ।
वडा अधिवेशन सकिएसँगै कांग्रेसले पालिका अधिवेशनको तयारी थालेको छ। बुधबार पालिका अधिवेशन र शनिबार महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ।ताप्लेजुङमा नौ स्थानीय तह र दुई प्रदेश निर्वाचन क्षेत्र रहेका छन् ।