नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७२ कारोबार सदस्यहरूका डेटा सेन्टरको रूपमा रहेको ‘डेटा हब प्रालि’मा देखिएको प्राविधिक समस्या समाधान भएको जनाएको छ । प्राविधिक समस्या समाधान भएसँगै आजदेखि नेप्से पूर्ववत् रूपमा कारोबार सञ्चालन हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक सूचना जारी गरेर जानकारी दिएको छ ।
नेप्सेले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्यहरूका डाटा सेन्टरको रूपमा रहेको डेटा हब (Data Hub) प्रा.लि.मा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएको हुँदा आज मिति ०८३/०६/०६ देखि नेप्सेमा पूर्ववत् कारोबार सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौँ।’
अनलाइन सेयर कारोबार प्रणाली अर्थात् ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)को सर्भर राखिएको डेटा सेन्टरमा आइतबार साइबर आक्रमण भएको थियाे । ७२ ब्रोकरको टिएमएस सर्भर राखिएको ‘डेटा हब प्रालि’को डेटा सेन्टर आक्रमणमा परेपछि सोमबारको सेयर कारोबार नै स्थगन गरिएको थियाे ।
पुँजीबजारमा पहिलोपटक यति ठुलो साइबर आक्रमण भएको हो । पुँजीबजारमा लगानीकर्ताको साढे ४५ खर्ब लगानी छ । आइतबार बिहान साढे पाँच बजे डेटा हब प्रालिको प्रणालीमा साइबर आक्रमण भएको पहिचान भए पनि आक्रमण कसले गर्यो भन्ने विषय अझै अज्ञात छ ।
डेटा हबमा विभिन्न बैंक, कम्पनी, संस्थालगायतका धेरै कम्पनीले सर्भर राखेका छन् । तर, ७२ ब्रोकरको टिएमएस सर्भर भएको प्रणालीमा मात्रै साइबर आक्रमण भएको हो ।
सेयर कारोबारका लागि १ साउन ०७५ देखि टिएमएस प्रणाली सञ्चालनमा ल्याइएको थियो । यसलाई पूर्ण रूपमा भने २० कात्तिक ०७५ बाट सञ्चालनमा ल्याइएको हो । टिएमएस वाइको प्रालि (योमरी कम्पनी)ले बनाएको प्रणाली हो । यसले सेयर खरिद–बिक्रीलाई पूर्ण रूपमा डिजिटलाइज गरेको छ । टिएमएस ‘सफ्टवेयर’ सञ्चालन गर्न ‘सर्भर’ चाहिन्छ । ब्रोकरहरू एक्लाएक्लैले यस्तो डेटा सेन्टर सञ्चालन गरेर सर्भर राख्न मिल्छ । तर, लागत उच्च पर्ने भएपछि ब्रोकरहरूले क्लाउड सेवा अर्थात् डेटा सेन्टरबाट ‘सर्भर’ सेवा आउटसोर्स गर्दै आएका छन् ।
हाल नेपालमा सञ्चालित ९२ मध्ये ७२ ब्रोकरले ‘डेटा हब प्रालि’मा सर्भर राखेका छन् । अर्थात्, उनीहरूको डेटा सेन्टर नै डेटा हब प्रालि हो । अन्य ब्रोकरले भने ‘क्लाउड हिमालयन’मा सर्भर राखेका छन् । यसमा वाइको कम्पनीले पनि समन्वयन गरिदिन्छ ।
आइतबार साप्ताहिक बिदा भएका कारण सेयर कारोबार पनि स्वतः बन्द अवस्थामा थियो । सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नियमित सेयर कारोबार हुँदै थियो । त्यो अवस्थामा डेटा हब प्रालिले आइतबार दिन र राति साइबर आक्रमणको समस्या समाधान गरेर कारोबार हुने समयभित्रै प्रणालीलाई सामान्य अवस्थामा ल्याउने योजना बनाएको थियो । त्यही कारण डेटा हबले आक्रमण भएको विषय नै गोप्य राख्यो ।
तर, योजनाअनुसार प्रणाली सञ्चालनमा ल्याउन नसकेपछि डेटा हब प्रालिले सोमबार बिहान वाइको कम्पनीमार्फत ब्रोकर कम्पनी र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई यसबारे जानकारी दिएर प्रणाली सञ्चालन गर्न नसकिने बताएको थियो । त्यसपछि स्टक ब्रोकर एसोसिएसनको प्रस्तावमा नेप्सेले सोमबारका लागि कारोबार स्थगन गरिएकाे थियाे ।