टोरन्टो फिल्म फेस्टिभलको ५१औँ संस्करण सुरु

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

प्रतिष्ठित टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ५१औँ संस्करण सुरु भएको छ। बिहीबार क्यानडाको टोरन्टो सहरमा महोत्सवको उद्घाटन एकेडेमी अवार्ड विजेता निर्देशक सिआन हेडर निर्देशित फिचर फिल्म ‘बिइङ ह्युम्यान’को विश्व प्रिमियरबाट गरिएको हो।

यो फिल्मले फरक क्षमता भएका व्यक्तिहरूको अदम्य इच्छाशक्ति, साहस र दृढ प्रतिबद्धताका साथ असम्भवजस्तो देखिने उपलब्धि हासिल गरेको प्रेरणादायी तथा हृदयस्पर्शी कथा प्रस्तुत गरेको छ।

फिल्ममा अपांगता अधिकारकर्मी ह्युम्यानको भूमिकामा रुथ मेड्लीले अभिनय गरेकी छिन्। फिल्मले अमेरिकी अपांगता अधिकार अभियन्ता जुडी ह्युम्यानको जीवन र अपांगता अधिकार आन्दोलनमा उनले पुर्याएको योगदानलाई चित्रण गरेको छ। जुडी ह्युम्यानलाई अमेरिकाको अपांगता अधिकार आन्दोलनकी जननीका रूपमा चिनिन्छ।

‘बिइङ ह्युम्यान’ प्रदर्शनअघि कलाकार तथा फिल्मकर्मीहरू टोरन्टोस्थित रोय थम्सन हलमा आयोजित रेड कार्पेटमा सहभागी भएका थिए। सेप्टेम्बर २० सम्म चल्ने महोत्सवमा  ५० देशका बहुप्रतीक्षित विश्व प्रिमियर, विश्वप्रसिद्ध निर्देशकहरूको नयाँ चलचित्र तथा अन्तर्राष्ट्रिय पुरस्कारविजेता चलचित्रहरू प्रदर्शन गरिनेछन्।

महाेत्सवमा  नेपालबाट अविनाशविक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) देखाइनेछ । यो फिल्म टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले सेन्टरपिस कार्यक्रमअन्तर्गत छनोट भएको हो। यो चलचित्रले कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत प्रतिष्ठित जुरी पुरस्कार जित्दै इतिहास रचेको थियो।  ‘एलिफेन्ट्स इन द फग’ कान्स फिल्म फेस्टिभलमा छनोट हुने पहिलो नेपाली फिचर चलचित्र पनि हो।
 

सुझावित समाचार