अपांगता भएकाहरूलाई हस्तकला तालिम

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

बर्दियामा अपांगता भएकाहरूलाई हस्तकला सामग्री निर्माणसम्बन्धी तालिम दिइएको छ। अपांगता भएका व्यक्तिहरूलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले हस्तकला सामग्री निर्माणसम्बन्धी तालिम दिइएको हो।

स्थानीय स्तरमा पाइने बेतलाई प्रयोग गरेर भान्सा मुढा, सादा मुढा, हाप स्टिक चियर, फूलदानी, किताब र्याक निर्माण गर्न सिकाइएको बर्दिया अपांगता पुनर्स्थापना केन्द्रले जनाएको छ।

बर्दिया अपांगता पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाले सुनाइ र बोलाइसम्बन्धी अपांगता भएका व्यक्तिलाई बेतको सामग्री बनाउन सिकाइएको बताए। उनले भने, ‘अपांगता भएका व्यक्तिलाई सिप सिकाएर आयआर्जन गरी आत्मनिर्भर बनाउन  तालिम दिइएको हो। अपांगता भएका व्यक्तिहरूले पनि अवसर पाए अरूजस्तै काम गर्न सक्छन् र आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण तालिममा सहभागीले देखाएका छन्।’

सुनाइसम्बन्धी अपांगता भएका बढैयाताल गाउँपालिका– ८ का नवराज पोख्रेलले तालिममा सिकेको सिपलाई व्यावसायिक रूपमा गर्ने चाहना भएको बताए। उनले भने, ‘अहिलेसम्म भान्सा मुढा, सादा मुढा, हाप स्टिक चियर, फूलदानी बनाउन सक्छु। सिकेको सिपलाई अझै राम्रो बनाएर व्यावसायिक रूपमा काम गर्नेछु।’

बर्दिया अपांगता पुनर्स्थापना केन्द्रले सिपमूलक तालिम दिएर सिप सिक्ने अवसर दिएको सुनाइ र बोलाइसम्बन्धी अपांगता भएका बढैयाताल– ८ का रुदबहादुर खड्काले  बताए। उनले भने, ‘सिकेको सिपलाई व्यावसायिक रूपमा प्रयोग गरी घरमै बसेर आम्दानी गर्न सक्ने गरी तालिम सिक्न मन छ।’

सुझावित समाचार