कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६,१३२ वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । क्षेत्रीय प्रतिनिधिले मात्र कांग्रेसको महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्न पाउँछन् । शनिबार र आइतबार दुई दिन तोकिएको वडा अधिवेशनको कार्यतालिकाअनुसार पहिलो दिन ४३ जिल्लाका ३,३९६ वडामा र दोस्रो दिन ३० जिल्लाका २,७३६ वडामा अधिवेशन सम्पन्न भएको छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले ७३ जिल्लामा अधिवेशन सम्पन्न भएको बताए । ‘मधेशमा रोकिएको अधिवेशन बैठक कहाँ बस्ने भन्ने विवादले हो । सप्तरी, सिराहा, रौतहटमा पनि त्यस्तै देखियो,’ निर्वाचन समितिका एक सदस्यले भने, ‘खाली जुँगाको लडाइँ मात्र देखिएको छ ।’ मोरङ ६ मा भने मतदाताको दुईवटा सूची पुगेपछि विवाद भएको छ ।
सिराहाका साथै मोरङ ६, सप्तरी २ र ४, सर्लाही २, रौतहट १, परासी २ का वडामा भने निर्धारित समयमा वडा अधिवेशन हुन सकेन । बाँकी वडामा सोमबार अधिवेशन गरिने कांग्रेस निर्वाचन समितिले जनाएको छ । ‘अधिकांश वडामा उत्साहजनक रूपमा अधिवेशन सम्पन्न भएको छ । केही वडामा प्राविधिक कारण निर्धारित कार्यतालिकामा हुन सकेन । अब सोमबार हुन्छ,’ निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले भने ।
भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा १२ असोजसम्म अधिवेशन गर्न भनिएको छ । तीनवटै जिल्लाले अधिवेशन गर्न सकिने बताएपछि १२ असोजसम्मको समय दिइएको निर्वाचन समिति संयोजक खड्काले बताए । बाढी प्रभावित तीन जिल्लाका लागि सदस्यता शुल्क मिनाहा गरिएको छ । ‘सदस्यता शुल्क मिनाहाको प्रस्ताव आएको थियो । उहाँहरूको हकमा सदस्यता दस्तुर तिर्न नपर्ने निर्णय गरिएको छ । अधिवेशन गर्न १२ गतेसम्मको समय दिइएको छ,’ उनले भने ।
वैधानिक व्यवस्थाअनुसार १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा तीनजना युवा प्रतिनिधि चयन भएको कांग्रेसले जनाएको छ । १५० भन्दा बढी क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा थप एक युवाको प्रतिनिधित्व भएको छ ।
नगर, उपमहानगर र महानगरपालिका वडा समितिमा ३० वर्षमुनिका दुई युवा प्रत्यक्ष निर्वाचित भएका छन् । १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको नगर, उपमहानगर, महानगरपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा ३० वर्षमुनिका युवाबाट एक महिलासहित तीनजना प्रत्यक्ष निर्वाचित भएका छन् ।
कांग्रेस विभाजनको डिलमा : खड्का
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस विभाजनको अन्तिम डिलमा पुगेको टिप्पणी गरेका छन् । विभाजन रोक्न अन्तिम प्रयास गरिरहेको उनको दाबी छ । खड्काले आफू गगन थापा नेतृत्वको कार्यसमितिले घोषणा गरेको महाधिवेशन प्रक्रियामा नरहेको पनि बताएका छन् ।
‘सम्बन्धित सबैमा स्पष्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन–रहने छैन,’ खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुकमापर्फत भनेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ । पार्टीका आदरणीय सबै साथीहरू, तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ ।’
खड्काले सर्वोच्च अदालतले आफूहरूले दिएको मुद्दामा अग्राधिकार राख्ने प्रबन्ध गरिदिन पनि आग्रह गरेका छन् । सर्वोच्चको अन्तिम फैसला स्वीकार्य हुने पनि उनले बताएका छन् । ‘सम्मानित सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीशज्यू र माननीय न्यायाधीशज्यूहरूसँग हाम्रो विनम्रतापूर्वक आग्रह, अनुरोध छ कि सर्वोच्चमा विचाराधीन नेपाली कांग्रेसको पुनरवलोकनको मुद्दालाई यहाँहरूको मूल्यांकनमा परिस्थितिको गम्भीरताको आकलन गर्नुभई मुद्दालाई अग्राधिकार राख्ने प्रबन्ध गर्न मिल्छ भने अन्तिम फैसला कृपया यथाशीघ्र गरिदिनुहोस् । सर्वोच्च अदालतको अन्तिम फैसला हाम्रा लागि स्वीकार्य हुनेछ,’ खड्काले भनेका छन् ।
उदयपुर कांग्रेसमा दुईवटा अधिवेशन आयोजक समिति
उदयपुरमा शेरबहादुर देउवा समूहले छुट्टै अधिवेशन आयोजक समिति गठन गरेपछि कांग्रेस औपचारिक रूपमा दुई समूहमा विभाजित भएको छ । देउवा समूहले त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ ।
आइतबार गाईघाटमा आयोजित भेला तथा अन्तक्र्रियापछि बस्नेतलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो । बस्नेतले आफूलाई जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला संयोजकको जिम्मेवारी दिइएको बताए । ‘हामीले औपचारिक रूपमा उदयपुर कांग्रेसमा दुई समूह गठन गरेका छौँ । साथीहरूले जिल्ला अधिवेशन सम्पन्न गर्न मलाई जिल्ला संयोजकमा चयन गर्नुभएको छ,’ उनले भने । देउवा समूहले १५ असोजदेखि वडा, पालिका हुँदै जिल्ला तहका अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।