कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया शनिबारदेखि वडा तहबाट सुरु भएको छ । देशभरका अधिकांश वडामा अधिवेशन सुरु भइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने यो प्रक्रियामा सहभागी भएको छैन । सभापति गगन थापा नेतृत्वको कांग्रेसले ३ र ४ असोजमा वडा अधिवेशन, त्यसपछि क्रमशः विभिन्न तहका अधिवेशन गर्दै १६ देखि १९ असोजसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ । वडा अधिवेशनबाट वडा कार्यसमिति चयनका साथै क्षेत्रीय प्रतिनिधि हुँदै महाविधेशन प्रतिनिधि चयन हुन्छन् ।
वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्न क्रियाशील सदस्यता अनिवार्य चाहिन्छ । कांग्रेसले आठ लाख ७० हजार क्रियाशील सदस्य रहेको जनाएको छ । महाधिवेशन प्रतिनिधिको उम्मेदवार क्षेत्रीय प्रतिनिधि मात्र बन्न पाउँछन् । केन्द्रीय नेतृत्वमा पुग्न महाधिवेशन प्रतिनिधि हुनैपर्छ ।
महामन्त्री गुरुराज घिमिरेले अधिकांश वडामा शनिबार नै अधिवेशन सुरु भएको र केही वडामा मात्रै आइतबारबाट अधिवेशन हुने बताए । उनका अनुसार स्थानीय अनुकूलताअनुसार केही वडामा अधिवेशन एक दिनपछि हुन लागेको हो । ‘अधिकांश वडामा आजै अधिवेशन सुरु भएको छ । केही वडामा बाँकी छन्, ती वडामा भोलि अधिवेशन हुन्छ । शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न समय दिइएकाले निर्धारित समयभित्रै सबै वडा अधिवेशन सम्पन्न हुन्छ,’ घिमिरेले भने ।
सभापति गगन थापाले ऐतिहासिक अभियानमा सहभागी भई सबल र सुदृढ कांग्रेस निर्माणमा जुट्न आह्वान गरेका छन् । ‘वडा तहबाटै कांग्रेसको ऐतिहासिक लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको छ । गाउँ, नगर र वडा–वडामा नयाँ उत्साह र ऊर्जा छाएको छ । यो ऐतिहासिक अभियानमा सहभागी भई सबल र सुदृढ कांग्रेस निर्माणमा जुटौँ,’ थापाले भनेका छन् ।
उनले अधिवेशनमा सहभागी भई सबल र सुदृढ कांग्रेस निर्माणमा जुट्न आह्वान गरेका छन् । ‘समयको मागअनुसार संविधानमा कतिपय कुराहरू बदल्नुपर्नेछ । जसले संविधानका यी मूल्य र मान्यतालाई खुम्च्याउने होइन थप विस्तार गर्नेछ । हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ,’ उनले भनेका छन् ।
आफूहरूबाट भएको कमजोरी भए सच्याएर अघि बढ्ने संकल्प परेका छन् । ‘हामीले अधिवेशनबाट पनि संकल्प गर्नेछौँ । ती विगत जसलाई हामीले सधैँ सम्झनुपर्नेछ, त्यसलाई जोगाउनेछौँ । नयाँ पुस्ताले नयाँ आकांक्षा राखेको छ । समाजमा एउटा छटपटी छ । तीव्र विकासको चाहना छ । ती चाहनालाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने, यो क्षमता राख्ने नेपाली कांग्रेस बनाएर हामी अधिवेशनबाट लिएर आउनेछौँ,’ थापाले भनेका छन् ।
शनिबार कुन–कुन जिल्लामा भयो अधिवेशन ?
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार ४३ जिल्लाका ३,३९६ वडामा अधिवेशन सम्पन्न भएको छ । उनका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्वु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका ३,३९६ वडामा अधिवेशन सम्पन्न भएको हो । ती वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको कटुवालले बताए । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लावाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन आइतबार जारी रहने उनले बताए । उनका अनुसार बाढी प्रभावित जिल्लामा भने छुट्टै कार्यतालिकामा अधिवेशन हुनेछ ।
संस्थापन समूहले गरेको अधिवेशनप्रति देउवा समूहको बेवास्ता
पूर्वसभापति शेरबहादुर देउवा समूहको असन्तुष्टिका बिच कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो । देउवा पक्षका नेताहरू सामेल छैनन् । देउवा पक्षले भने १५ असोजमा वडा अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ ।
देउवा पक्षमा शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशरण महत, एनपी साउद, रमेश लेखक, शंकर भण्डारी, मोहन बस्नेत, भीमसेनदास प्रधान, दीपक खड्का, मानबहादुर विश्वकर्मा, आनन्द ढुंगाना, अम्बिका बस्नेत, शिव हुमागाईं, गुरु बराल, कल्याणी रिजाल, पूर्णबहादुर तामाङ, कुन्दनराज काफ्ले, जितजंग बस्नेत, दीपक कुइँकेललगायत छन् ।
पूर्वउपसभापति विमलेन्द्र निधि नेतृत्वको समूहले जिल्ला र प्रदेश अधिवेशन नगरी महाधिवेशन प्रक्रिया अघि बढाएर संघीयतालाई चुनौती दिएको आरोप लगाएको छ । निधिले जिल्ला र प्रदेश अधिवेशनविनै महाधिवेशन गर्न खोज्नु कांग्रेसको विधानविपरीत हुने दाबी गरे । ‘जिल्ला र प्रदेशको अधिवेशन नगर्नु भनेको संघीयतालाई नमान्नु हो । जसरी भए पनि कागजमा महाधिवेशन गरौँ भन्ने मात्रै उनीहरूको आशय देखिन्छ । यो दृष्टिकोण र विधानविपरीत छ,’ निधिले भने ।
उनले पार्टी विधानलाई जथाभावी परिवर्तन गरिएको आरोपसमेत लगाए । यद्यपि, निधिले आफ्नो समूहले पार्टीको सबै प्रक्रिया पूरा गरेर वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै १५औँ महाधिवेशनमा जाने बताए ।
देउवापक्षीय महाधिवेशन तयारी समितिका सचिवालय संयोजक दीपक कुइँकेलले १५ असोजको वडा अधिवेशनको तयारीमा रहेकाले अर्को पक्षको अधिवेशनबारे चासो नदिएको प्रतिक्रिया दिए । ‘हामी छुट्टै महाधिवेशनको तयारीमा छौँ । हाम्रो बाटो हामी हिँडिरहेका छौँ । १५ असोजमा वडा अधिवेशन हुन्छ,’ उनले भने, ‘२१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्छौँ ।’
शेरबहादुर र शेखरको क्षेत्रमा भएन अधिवेशन
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्लामा शनिबार वडा अधिवेशन हुन सकेन । डडेल्धुराका ५२ वटै वडामा आइतबार अधिवेशन हुने कांग्रेसले जनाएको छ । वडा अधिवेशनको समय ३ र ४ असोजमा तोकिएकाले दोस्रो दिन अधिवेशन हुन लागेको नेताहरूले दाबी गरेका छन् । ‘मातहतका सबै समिति क्रियाशील रही वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गराउन हार्दिक अनुरोध गरिन्छ,’ जिल्ला कार्यसमितिको फेसबुक पेजमार्फत जारी सूचनामा भनिएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन सहजीकरण संयोजक वरिष्ठ अधिवक्ता गंगाराम पाध्यायले डडेल्धुरामा विवाद मिलाएर एकता महाधिवेशन गर्नुपर्ने विषय उठेकाले शनिबार वडा अधिवेशन हुन नसकेको बताए । ‘पूर्वप्रधानमन्त्री/पूर्वसभापतिको जिल्ला भएकाले एकताको महाधिवेशन बनायौँ भन्ने साथीहरूको कुरा छ । एकता नभएसम्म महाधिवेशन गर्नुहुँदैन भन्ने कुरा पनि आएकाले त्यसलाई मिलाएर गरौँ भन्ने छ । अधिवेशन सम्पन्न गर्न सहमतिको प्रयास हुँदै छ,’ उनले भने ।
कंग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्लले यथास्थितिमा अघिवेशन स्थगित गर्दै{ पार्टी एकताका लागि संयमित भएर अघि बढ्न आग्रह गरेका छन् । ‘यथास्थितिमा भइरहेको जिल्ला अधिवेशनका प्रक्रिया अविलम्ब स्थगन गरी पार्टी एकताका लागि पहल गर्न आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘अन्यथा कर्मकाण्डी किसिमले सम्पन्न गरिने अधिवेशनबाट आउन सक्ने दुष्परिणामको जिम्मा कांग्रेसको सिंगो नेतृत्वले लिनुपर्नेछ ।’ उनले यथास्थितिमा हुने अधिवेशनमा आफू सहभागी नहुने पनि उनले स्पष्ट पारे । मोरङ ६ अन्तर्गतका वडामा शनिबार अधिवेशन हुन सकेन । नेता डा. शेखर कोइरालाको उक्त क्षेत्रमा सदस्यता विवादका कारण अधिवेशन हुन नसकेको हो । शनिबार रोकिएको अधिवेशन आइतबार हुने कोशी प्रदेश निर्वाचन सहजीकरण संयोजक वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्कीले बताए । ‘सदस्यतासम्बन्धी केही विवाद देखियो । त्यसलाई टुंग्याएर भोलि अधिवेशन हुन्छ,’ कार्कीले भने ।