गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पताल : ५०% काम नहुँदै सकियो विनियोजित बजेट, एक अर्ब माग

१२ तलाको भवनको छतमा हेलिप्याडसहितको सुविधा

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

बुटवल- लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेट सकिएपछि थप एक अर्ब बजेट माग गरिएको छ । भवन निर्माणको काममा तीव्रता दिन बजेटको अभाव नहोस् भनेर थप बजेट माग गरिएको हो । हालसम्म भौतिक प्रगति ४६ र वित्तीय प्रगति ४२ प्रतिशत छ ।

दुई तला अन्डरग्राउन्डसहित १२ तलाको अत्याधुनिक अस्पताल बनाउन २६ पुस ०८० मा प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको आठ महिनापछि १५ भदौ ०८१ मा मात्र भवनको शिलान्यास गरी निर्माणको काम अगाडि बढाइएको थियो ।

सुविधा सम्पन्न दुईवटा भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएकोमा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए । सम्झौताअनुसार पाँच वर्ष अर्थात् २५ पुस ०८५ भित्र भवन निर्माणको काम पूरा गर्नुपर्ने सर्त छ ।

प्रादेशिक अस्पतालको भवन निर्माणका लागि सरकारले चालू आर्थिक वर्षका लागि छुट्याएको बजेट सकिएको छ । प्रदेश सरकारले चालू आव ०८३/८४ मा भवन निर्माणका लागि एक अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो । सो रकम अघिल्लो आर्थिक वर्षमा भएको कामको भुक्तानीमै धेरैजसो सकिएको छ । 

प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइट इन्चार्ज इन्जिनियर शंकर सुवेदीका अनुसार अघिल्लो वर्षको भुक्तानीमा ९५ करोड सकिएको हो । बजेट कमी भएपछि प्रदेश सरकारसँग एक अर्ब रुपैयाँ थप माग गरिएको उनले बताए । अहिलेकै गतिमा काम भएमा र बजेटको पनि कमी नभएमा निर्माण सम्पन्न गर्नुपर्ने अवधिभन्दा अगाडि नै सम्पन्न हुने सुवेदी बताउँछन् । ‘कामको गति अहिलेकै गतिमा अघि बढेमा र बजेटको कमी नभएमा ०८४ को मध्यतिर सम्पन्न हुन सक्छ,’ उनले भने । 

सिद्धार्थ राजमार्गसँगै जोडिएको कुल ६ बिघा १२ कट्ठा जमिनमा ०१६ मा बनेका पुराना संरचना भत्काएर १२ तलाको मुख्य भवन र क्यान्सर भवन निर्माण थालिएको हो । यसअघि निर्माण गरिएका डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति, महिला तथा बाल रोग, जनरल वार्ड र शल्यक्रिया भवन भने यथावत् राखिएका छन् ।

१२ तलाको भवनको छतमा हेलिप्याडसहितको सुविधा
प्रादेशिक अस्पताललाई १२ सय बेडको बनाउने लक्ष्यसहित प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा अगाडि बढाएको छ । अस्पतालमा दुई तहको बेसमेन्ट भएको सात सय शङ्ढयाको १० तले मुख्य भवन (२ तले अन्डरग्राउण्डसहित १२ तले), भवन र अर्को १ तहको बेसमेन्टसहित पाँचतले १०० शङ्ढया क्षमताको क्यान्सर उपचार भवन निर्माणका क्रममा छन् । क्यान्सर भवनतर्फ एक तहको बेसमेन्ट र तेस्रो तलाको ढलान सम्पन्न भइसकेको छ । उनका अनुसार मुख्य भवनतर्फ हालसम्म दुई तहको बेसमेन्ट र छैटौँ तलाको काम सकिएको छ । सातौँ तलाको काम जारी छ । 

भवनको सबैभन्दा माथि हेलिप्याड हुनेछ । हेलिप्याडबाट सीधै इमर्जेन्सी वार्डमा आउजाउ गर्न मिल्ने लिफ्ट पनि निर्माण हुनेछ । नयाँ भवन बनेपछि ओपिडी, इमर्जेन्सी सेवा यहीँबाट प्रदान गरिनेछ । ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायत सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन गरिनेछ । हाल उपचारका लागि प्रयोग गरिएका तीनवटा भवनका सेवा नयाँ भवनमा सारिनेछ । पुराना भवन डायग्नोस्टिक एन्ड रिसर्च, प्रसूति तथा महिला र बाल रोग उपचारका लागि प्रयोग गरिनेछ । त्यस्तै, अहिले निर्माण भइरहेको भवनको दक्षिणतर्फ क्यान्सर उपचारका लागि छुट्टै भवन निर्माण हुँदै छ । भवन पाँचतले हुनेछ र एक सिंगल बेसमेन्ट रहनेछ ।

१५ फागुन १९६७ मा ६ शङ्ढयाबाट सुरु भएको अस्पताल लुम्बिनी क्षेत्रकै सबैभन्दा पुरानो र ठुलो अस्पताल हो । सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फुलबारीबाट दुईजना चिकित्सकबाट अस्पतालको सेवा सुरु गरिएको थियो । ३१ वर्ष बुटवल फुलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्तसञ्चार गृह रहेको स्थानमा सारिएको थियो । 

सुझावित समाचार